भक्तपुर, ५ फागुन । भक्तपुरका एक सय वर्ष पुगेका हरिलाल पंच सम्मानित भएका छन् । आज उहाँलाई उहाँकै परिवारका सदस्यहरुले गठन गरेको पंच मु दवु (समूह)को दोश्रो वार्षिक भेला तथा बनभोज कार्यक्रममा सम्मान गरिएको हो । संस्कृतिविद् रत्न सायमी र दवुका अध्यक्ष दुरुकाजी पंचले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।
कार्यक्रममा संस्कृतिविद् सायमीले एक सय वर्ष पुगेका मानिस हाम्रो लागि गर्वको विषय भएको बताउनुभयो । नाति सरहको आफूले एक सय वर्ष पुगेका हजुरबुबा जस्तो मानिसलाई सम्मान गर्न पाउनु आफनो लागि गौरबको विषय भएको उहाँले बताउनुभयो । उहाँले एक सय वर्ष मात्रै होइन, ८० वर्ष उमेर पुगेका मानिसका अनुभब लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गर्न सके भावी पुस्ताको लागि उपयोगी हुने बताउनुभयो ।
पंच मु दवु पंच थर भएका भक्तपुरेहरुको समूह हो । भक्तपुरमा विभिन्न थरका मानिसहरुमध्ये पंच थर भएका परिवारले सवै परिवारलाई एकतावद्ध गर्न २०७८ सालमा पंच मु दवू गठन गरेका थिए । उहाँहरूका अनुसार भक्तपुरमा पंच थर भएका परिवार भक्तपुर नगरपालिका वडा नम्बर १ इटाछें र भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुञ्जे किवाचो दुई ठाउँंमा छन् ।
तर २०७२ सालको महाभूकम्पपछि भने उहाँहरू जिल्लाकै सूर्यविनायक पाण्डुबजार, लिवाली, कमलविनायक, सल्लाघारी लगायतका ठाउँंमा बसाई सराई गरी बस्न थालेका छन् । हाल दवुमा दुई सय ७२ सदस्य रहेको जनाइएको छ । कार्यसमिति भने नौ जनाको रहेको जनाइयो । सम्मानित हरिलाल पंचको जन्म १९८१ मंसिर १९ गते भएको थियो । उहाँले गएको मंसिर १९ गते ९९ वर्ष पूरा गरी एक सय वर्ष प्रवेशको अवसरमा जन्मदिन मनाइएको थियो ।
उहाँकी धर्मपत्नी केशरी पंच पनि हुनुहुन्छ । उहाँको जन्म भने १९८५ मंसिर २३ गते भएको थियो । उनीहरुका चार छोरा र तीन छोरीहरु थिए । तीन छोरीहरु भने वितिसकेका छन् । उहाँका चार छोरा र चार बुहारीहरुसहित नातिनातिना, पनातिपनातिना, खनातिखनातिनाहरुसमेत भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्