जनता टाइम्स

६ फाल्गुन २०८०, आईतवार २३:४४

प्रधानमन्त्रीका बिश्वास पात्र गगन पुरीलाई ४ करोड ३ लाख जरिवाना


काठमाडौं, फागुन ६ । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका नेता रेवतराज उर्फ गगन पुरीलाई विशेष अदालतले ४ करोड ३ लाख ३४ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार माओवादी नेता पुरी र उहाँकी श्रीमती सीमा भनिने केशावती पुरीलाई ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ जरिबानाको फैसला सुनाएको हो ।

माघ २८ गते नै विशेष अदालतले नेता पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले सजाय निर्धारण गर्न आजका लागि पेसी तोकेको थियो । ।

माओवादी केन्द्रको कोशी प्रदेश कमिटीका कोषाध्यक्ष पुरी र उहाँकी श्रीमतीमाथि दमक नगरपालिका १३ को सरकारी जग्गा हडपेर अकुत सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले ०७७ सालमा मुद्दा दायर गरेको थियो ।

सो जग्गाकाण्डमा गगन र केशावतीसहित मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीविरुद्ध पनि विभागले मुद्दा दायर गरेको थियो । गगनसँगै प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीले भने सफाइ पाउनु भएको छ ।

सम्पत्ति सुद्धिकरणमा दोषी ठहर भई ४ करोड जरिवाना तोकिएका गगन माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका बिश्वास पात्र मानिनु हुन्छ । बिशेषले जरिवाना तोके पनि पुरी प्रधानमन्त्री दाहालले अदालतमा मिलाएर निदौष सावित गराउनेमा ढुक्क देखिनुभएको उहाँ निकटले बताएको छ ।