जनता टाइम्स

७ फाल्गुन २०८०, सोमबार १५:१०

सरकार अधिनायकवाद तर्फ अघि बढ्यो – पत्रकार महासंघ


काठमाडौं,  फागुन ७।  प्रजातन्त्र दिवसको अवसरमा भएको कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको भन्दै पत्रकार महासंघले विरोध जनाएको छ । आज एक विज्ञप्ती निकाल्दै उक्त कार्यको विरोध जनाएको हो । सैनिक मञ्च टुँडीखेलमा भएको कार्यक्रममा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइनु सरकार अधिनायकवाद तर्फ अघि बढ्न खोजेको बताएको छ । पत्रकार महासंघका महासचिव रोशन पुरी द्धारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरी समाचार संकलनमा अवरोध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको बताईएको छ ।

कुनै पनि बहानामा सार्वजनिक कार्यक्रममा पत्रकारलाई निषेध गरिनु प्रेस स्वतन्त्रताविरोधी हर्कत हुनुका साथै पत्रकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हो । महासंघ पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी सार्वजनिक कार्यक्रममा सबै पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ । विज्ञप्तीमा भनिएको छ । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको पास देखाउँदा समेत सैनिकहरूले गेटमै रोकेका थिए । विभागको पासका आधारमा प्रवेश नदिइने र समाचार संकलनका लागि विशेष प्रवेश पास लिनुपर्ने भन्दै प्रवेशमा रोक लगाइएको त्यहाँ उपस्थित पत्रकारहरूले बताएका छन् ।

भित्र पस्न नपाएपछि उनीहरूले गेटमै क्यामेरा डाउन गरेर विरोध जनाएका हुन । यसअघि सूचना विभागको पास देखाएर प्रवेश गर्दै आएका पत्रकारहरूलाई यसपालि विशेष पास देखाउन भन्दै सैनिकहरूले गेटमै रोकेका हुन् । सैनिक मञ्च टुँडिखेलमा ७४ औं प्रजातन्त्र दिवस समारोह राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रीहरू र उच्च पदस्थ अधिकारी उपस्थित रहेको थियो ।