रौतहट ८ फागुन । रौतहट सदरमुकाम गौरस्थित राजदेवी मिडियाले आयोजना गरेको महिला साइकल दौड प्रतियोगितामा गौर नगरपालिका–५ कि चंचला कुमारी प्रथम भएकी छन् । ७४औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित ११औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा चंचला कुमारी प्रथम भएकी हुन् ।
फाइनल दौडमा सहभागी भएका २० जना प्रतियोगीमध्ये उनी प्रथम हुँदा राजदेवी नगरपालिका–७ कि रानी कुमारी यादव दोस्रो तथा गौर नगरपालिका–४ कि बबिता कुमारीले तेस्रो स्थान हासिल गरिन् । प्रतियोगिताका प्रथम विजेतालाइ ५० हजार, दोस्रो ३० हजार र तेस्रोलाई २० हजार नगद पुरुस्कार दिइएको आयोजक राजदेवी मिडियाका अध्यक्ष रामापुकार पटेलले बताउनुभयो ।
१४० मध्ये छनौट भएर फाइनलमा सहभागी भएका २० जना महिलालाई पुरुस्कार स्वरुप एक एक थान साइकल प्रदान गरिएको छ । राजदेवी मिडिया प्रालिले प्रजातन्त्र दिवसको अवसर पारेर११ वर्षदेखि महिला साइकल दौडको आयोजना गर्दै आएको छ ।
सो प्रतियोगितामा प्रमुख अतिथि रुपमा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । उनलाई चन्द्रनिगाहपुर जसपा केन्द्रिय सदस्य तथा पूर्व प्रदेश सांसद रामकिशोर यादव, जिल्ला अध्यक्ष श्यामा बिहारी यादव, प्रदेश सांसद शोभा साह लगायत नेता कार्यकर्ता लामबद्ध भएर फूलको मालासहितले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्