जनता टाइम्स

८ फाल्गुन २०८०, मंगलवार १९:०८

अत्यावश्यक विधेयक पारित गर्ने सभामुखको प्रतिबद्धता


चितवन, ८ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशका निम्ति आवश्यक विधेयक संसद्मा पेस गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले चालु अधिवेशनमा सदनका विषयगत समितिबाट प्रस्तुत विधेयक पारित गर्ने सङ्कल्पका साथ अघि बढेको बताउनुभयो ।

अघिल्ला दुई वटा अधिवेशन तयारीकै क्रममा सकिएको बताउँदै उहाँले अब जनताको चाहनाअनुसार ऐन बनाउन संसद् लाग्ने बताउनुभयो । यो अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उहाँले दोहोर्याउनुभयो ।

सभामुख घिमिरे सौराहामा आयोजित प्रदेश संसद् र प्रदेशसभा तथा संसद् सचिवालयअन्तर्गतका निकाय र व्यवस्थापिकाका अनुभव आदानप्रदान कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो । कार्यक्रममा सातै प्रदेशका प्रदेशसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष सहभागी हुनुहुन्छ ।