जनता टाइम्स

९ फाल्गुन २०८०, बुधबार ०९:०४

एक्शनमा उत्रिए बालेन-सुनिता, ललिता निवासको जग्गा ७ दिनभित्र खाली गर्न निर्देशन


यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरू सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ

काठमाडौं, फागुन ९ । काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न निर्देशन दिएको छ ।

वडा नम्बर ४ बालुवाटारमा रहेको ललिता निवास क्षेत्रबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई महानगरले बुधबार सार्वजनिक सूचनामार्फत अनुरोध गरेको हो ।

विशेष अदालतको फैसलाबाट सरकारको नाममा फिर्ता आएको ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरू सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा सहयोग गर्न महानगरले अनुरोध गरेको छ ।

ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने सम्बन्धी सार्वजनिक सूचना विशेष अदालत काठमाडौंबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १ सय ७५ जना भएको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा भएको फैसलाबाट काठमाडौं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको महानगरले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगर क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरलाई तोकेको सूचनामा उल्लेख छ ।

‘अतः यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरू सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा लेखिएको छ ।

तोकेको समयभित्र सो क्षेत्रबाट नहटे प्रचलित कानुन बमोजिम हटाइने र सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने चेतावनी पनि महानगरले दिएको छ । विशेष अदालत, काठमाडौँको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौँ महानगरपालिका वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न सूचना प्रकाशित गरिएको जनाएको छ ।