जनता टाइम्स

९ फाल्गुन २०८०, बुधबार १७:५०

मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुको मसाल जुलुस


काठमाडौं, ९ फागुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ । अनेरास्ववियुले बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै आज काठमाडौंको त्रिचन्द्र कलेजबाट मसाल जुलुस प्रदर्शन गरेको हो ।

उनीहरूले नेपाली युवाको ज्यान लिने मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने भन्दै नारा लगाएका थिए। मसाल जुलुस निकाल्ने क्रममा प्रहरी हस्तक्षेप गरेको थियो । गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। इपीएसको परीक्षा फारम भर्ने विषयमा प्रदर्शन हुँदा उनीहरूको मृत्यु भएको थियो । प्रदर्शनमा मन्त्री ज्वाला सवार गाडी प्रदर्शनकारीले जलाएका थिए ।

त्यसलगत्तै सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरूणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई सदस्य थिए । आयोगले हालै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा मन्त्री प्रकाश ज्वालाले गरेको कमजोरीका कारण घटना भएको निष्कर्ष निकालिएको छ ।