जनता टाइम्स

९ फाल्गुन २०८०, बुधबार १८:१३

गठबन्धन सरकारप्रति पार्टीमा ठूलो असन्तुष्टि छ : झलनाथ खनाल


काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीभित्र ठूलो असन्तुष्टि रहेको बताउनुभएको छ । आज झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो,‘पार्टीभित्र यत्रो ठूलो असन्तुष्टि छ। यो सबै चिर्नका लागि नयाँ खालको संघर्षको आवश्यकता देखिएको छ ।’

नेता खनालले सरकारमा आफ्नो पार्टी निमित्तमा सहभागी बनेको जिकिर गर्दै गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताउनुभयो । उहाँले देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोंचविचार, नीति कार्यक्रमबजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गर्नुभयो ।

गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको भन्दै खनालले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताउनुभयो । ‘देशले नयाँ कोर्षको माग गरिरहेको छ। देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ’, खनालले भन्नुभयो ।

‘सरकारले ल्याएको नीति र कार्यक्रमले जनतालाई छोएको छैन । यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ,’ खनालले भन्नुभयो । पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको बताउनुभयो।