जनता टाइम्स

१० फाल्गुन २०८०, बिहीबार १९:२१

काठमाडौंमा वर्षा जारी, कस्तो रहला भोलीदेखिको मौसम ?


काठमाडौं, १० फागुन । काठमाडौं उपत्यकामा यतिबेला हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उपत्यकामा आज राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । आज राति वर्षा भए पनि भोलि बिहान केही समय घाम लाग्ने र दिउँसो बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

पछिल्लो २४ घन्टामा पोखरा, मनाङ, गोरखा, मकवानपुर, सिन्धुलीलगायतका जिल्लामा १४ मिलिमिटरसम्म वर्षा भएको छ । सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थान र कर्णालीमा छिटपुट पानी परेको छ । लुम्बिनीका पहाडी भेग, गण्डकी र बागमतीका पहाडी भेगमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।

भोली भने पश्चिमबाट मौसममा सुधार हुँदै जाने देखिन्छ । भोली दिउँसो कोशी र गण्डकीका पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।