जनता टाइम्स

११ फाल्गुन २०८०, शुक्रबार १७:२२

प्रधानमन्त्रीलाई एमालेको तीन दिने अल्टिमेटम


काठमाडौं, फागुन ११ । नेकपा एमालेले आफूहरुले उठाएको माग सम्बोधनका लागि प्रधानमन्त्रीलाई ३ दिनको समयसीमा तोकेको छ ।

सत्तारुढ दलका सांसदको आपत्तिजनक अभिब्यक्तिबिरुद्ध विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको संसद सुचारु भएपछि बोल्दै एमाले सचेतक महेश बर्तौलाले पार्टीको तर्फबाट समयसीमा तोक्नुभएको हो ।

बर्ताैलाले फागुन ६ गतेको बैठकदेखि प्रतिपक्षी दलहरुले उठाएको विषयमा आगामी तीन दिनभित्र सरकारले जवाफ दिनुपर्ने बताउनु भयो । ‘अब बस्ने बैठक, संसदले बनाएको तालिका बमोजिम १३ वा १४ गते हाम्रो बैठक छ, समय छान्ने सुविधा प्रधानमन्त्रीलाई भयो, उपयुक्त बैठकमा उपस्थित भएर प्रतिपक्ष बेञ्चबाट उठाएको सवाल सम्बोधन गरियोस, बर्ताैलाले भन्नुभयो ।

विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा मागेको छ ।

एमाले सचेतक बर्तौलाले संसदको आगामी बैठकमा मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभयो । तर संसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने भन्दै उहाँले थप्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामीसँग यति तागत छ कि नाकमा नत्थी लगाएर संसदमा ल्याउनुपर्ने परिस्थितिमा प्रमुख प्रतिपक्ष र प्रतिपक्षीहरुलाई नपुर्याइयोस ।’