जनता टाइम्स

११ फाल्गुन २०८०, शुक्रबार १५:१३

स्पार्क हेल्थ होम अस्पतालको ३२ औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान


काठमाडौं, ११ फागुन । काठमाडौंको कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पताल ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा हाडजोर्नी तथा नशा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको छ । आज अस्पतालले वार्षिकोत्सवको अवसर पारेर रोटरी क्लब अफ त्रिपुरेश्वरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । ३२ वर्ष अघि फागुण ११ गतेका दिन प्राकृतिक चिकित्साको उपचारका लागि स्पार्क अस्पतालको स्थापना भएको थियो ।

योगा गराउने उद्धेस्यले सानो एउटा कोठाबाट सुरु भएको यस अस्पताल ३२ वर्षसम्म आइपुग्दा अहिले थुप्रै सेवा सुविधाहरु थप गरेको अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले बताउनुभयो । प्राकृतिक चिकित्साको पुरानो अस्पताल भएकाले र गुणस्तरीय सेवाका कारण बिरामीको माया सधैं नै आफूहरुले पाएको र बिरामीको विश्वासका कारण यहाँसम्म आउन सकेको पनि रिजालले जिकीर गर्नुभयो । उहाँले पछिल्लो समय बिरामीहरुको प्राकृतिक चिकित्साप्रति विश्वास र भरोसा बढेको पनि सुनाउनुभयो ।

वार्षिकोत्सव कार्यक्रमको सुरुवात अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल, मेडिकल निर्देशक डा. सुनिल पौडेल, सिनिअर कन्सल्टेन्ट फिजियोथेरापिस्ट अनिलकुमार महतो, अस्पताल इन्चार्ज संगिता श्रेष्ठसहित ५० औं व्यक्तिले रक्तदान गर्नुभएको थियो । स्पार्कमा हाडजोर्नीको समस्या, नशा च्यापिएको, प्यारालाइसिस, हड्डी खिइएको, डिस्क प्रोल्याप्स, बाथ, यूरिक एसिड लगायतका उपचार हानीरहित विभिन्न थेरापी, मसाज तथा अन्य प्राकृतिक विधिमार्फत गर्ने गरिएको अस्पतालका निर्देशक रुपेश अधिकारीले बताउनुभयो । यस्तै स्पार्क अस्पतालको सेवाबाट धेरै बिरामीले नयाँ जीवन पाउन सफल भएको पनि अधिकारीले उल्लेख गर्नुभयो ।