काठमाडौं, फागुन १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आडमा सरकारी जग्गा हडप्ने झापाको गिरोहमाथि कार्वाही प्रकृया अघि बढेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि प्रचण्डका बिशेष कृपापात्र गगन पुरीसहित जग्गा हडपने काममा संलग्नहरुबिरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।अख्तियारले झापा जिल्लाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा माओवादी नेता पुरी र नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
दमक नगरपालिका–१३ र १४ मा रहेको बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । सार्वजनिक जग्गाका रुपमा दर्ता गर्नुपर्ने तीन सय ९७ रोपनी आठ आना एक पैसा तीन दाम जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको आयोगले जनाएको छ । सो जग्गा व्यक्तिविशेषका नाममा घुसाइ न्यूनतम मूल्याङ्कन ३४ करोड ६६ लाख ५४ हजार आठ सय ४९ कायम हुन आउने देखिएको छ ।
सरकारी सार्वजनिक पदधारण गरेको नापी कार्यालय चन्द्रगढी झापाका कर्मचारी १०, मालपोत कार्यालय दमकका ११ कर्मचारी, नापी कार्यालय दमक झापाका सात, सरकारी जग्गा हालसाबिक गरी दर्ता गर्ने ३६ र बिगो असुल तथा जग्गा फिर्ता लिने प्रयोजनाका लागि एक सय आठ जना गरी कूल एक सय ७२ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
आयोगले नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी प्रमुख स्वर्गीय शशिकान्त झा र निजको श्रीमती अनारदेवी झाविरुद्ध ३० करोड दुई लाख ७१ हजार नौ सय २६ बराबरको बिगो दाबी गरेको छ । सोही कार्यालयका तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकमार न्यौपानेविरुद्ध दुई लाख तीन हजार एक सय पाँच, प्रमुख नापी अधिकृत स्व संसारनाथ पाण्डे र निजको श्रीमती सावित्री पाण्डेयविरुद्ध ६७ हजार सात सय सात बराबरको बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । भ्रष्टाचार नियन्त्रण गर्ने सर्वाेच्च संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय अनुसन्धान गरेपछि गगनसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
बालुवाटार– २ भनेर चर्चित दमक वडा नम्बर आठ बालुवाटारको ५० बिगाहाभन्दा धेरै सरकारी तथा सार्वजनिक जग्गा पुरीले कब्जा गरेको आरोप लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही जग्गा जफत गर्ने, करोडौं रुपैयाँ बिगो भराउने र जेल सजाय गर्ने भनी विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
बालुवाटार क्षेत्रको ५० बिगाहाभन्दा धेरै सरकारी तथा सार्वजनिक जग्गा कीर्ते गरी कब्जा गरेको भनी स्थानीयले विरोध गर्दै आएका थिए । सोमध्ये अहिले २९ बिगाहा १७ कठ्ठा चार धुर अर्थात् ३९७ रोपनी आठ आना एक पैसा जग्गा जफत गरी सरकारीकरण गर्ने मागदावी गर्दै मुद्दा दायर भएको हो । अर्काे मुद्दामा २८ बिगाहा १७ कठ्ठा चार धुर अर्थात् तीनसय ८४ रोपनी आठ आना १ दाम जग्गा जफत गरी सरकारीकरण गर्ने मुद्दा दायर भएको हो ।
एउटा मुद्दा सरकारी जग्गा हालसाविक गरी जग्गा कब्जा गरेको अभियोगमा र अर्काे मुद्दा स्ववासी जग्गा दर्ताबाट व्यक्तिको नाममा सारेको भनी दायर भएको हो । गगनले कीर्ते गरेका, कब्जा गरेका अन्य विभिन्न जग्गा सम्बन्धमा पनि अख्तियारले बेग्लै अनुसन्धान गरिरहेको बुझिएको छ । त्यसैगरी सिआइबीले पनि गगनले गरेका विभिन्न जग्गा घोटालाको अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।
कीर्ते तथा घोटाला गरी जग्गा कब्जा गर्न गगनलाई सघाउने नापी कार्यालयका १७ जना र मालपोत कार्यालयका ११ जना कर्मचारीलाई पनि बिगो भराउने तथा कैद गर्ने मागदावी सहित मुद्दा दायर भएको हो । उनीहरुमध्ये केहीलाई एउटा र केहीलाई दुवै मुद्दा लगाइएको छ । यी कर्मचारीहरुमध्ये कैयनले जग्गा घोटालामा सघाएर गगनबाट जग्गा समेत घुस वापत पाएका थिए । ती कर्मचारीहरुले आफ्नी श्रीमती तथा नातेदारको नाममा जग्गा प्राप्त गरेका थिए ।
२०२१ सालको नापीमा ती जग्गा सरकारी सार्वजनिक थिए । ती जग्गाको छेउछाउमा गगनको पनि पुर्खाैली जग्गा थियो । तर, गगनका जग्गामा भने रतुवा नदी पस्यो । गगनको भनिएको जग्गामा अहिले रतुवा नदी बग्छ । रतुवा नदीमा परेको जग्गाका कित्ताहरु कर्मचारीहरुसँगको मिलेमतो र कीर्ते कागज बनाएर गगनले अर्कै ठाउँमा सारेको प्रामाणिक रुपमा देखिएको छ । यसरी कित्ता नै साटफेर गर्ने जस्तो गम्भीर अपराधको अभियोगमा मुद्दा दायर भएको हो ।
कित्ता साटफेर गर्दा गगनले कब्जा गरेको सार्वजनिक जग्गामा विगतमा सुकुम्वासी परिवार बस्थ्यो । ती सुकुम्वासीका नाममा जग्गा दर्ता हुनुपर्नेमा गगनले एकलौटी कीर्ते गरेर जग्गा कब्जा गरेको आरोप विगतमा त्यहाँ बस्ने सुकुम्वासीहरुले लगाउँदै आएका थिए । कीर्ते गर्ने क्रममा गगनले आफू तथा आफ्नो परिवारका सदस्यहरु र अन्य केही व्यक्तिका नाममा धनीपुर्जा निकालेको अख्तियारको अनुसन्धानले देखाएको छ । यही तथ्य प्रमाणसाथ अख्तियारले जेल सजायको समेत माग गरेर मुद्दा दर्ता गरेको हो ।
कीर्ते गरेर सुरुमा जजसको नाममा जग्गा ल्याइयो, ती सबैलाई जेल सजायको समेत माग गरिएको छ । त्यसरी जग्गा ल्याइएकाहरुमा गगनका परिवारका मनमाया पुरी, देवकुमार पुरी, डिल्लीराम पुरी, देवरुपा पुरी, ममता पुरी घिमिरे, माया पुरी पाण्डे, कृष्णकुमार पुरी, प्रेमकुमार पुरीलाई विगो भराउने तथा जेल सजायको माग गरिएको छ ।
गगनलाई एउटा मुद्दामा ६ करोड दुई लाख ७० हजार चार सय ९९ रुपैयाँ विगो भराउन मागदावी गरिएको छ भने अर्काे मुद्दामा तीन करोड ३५ लाख ७६ हजार ८८० रुपैयाँ बिगो भराउने मागदावी छ । गगनको परिवारका सदस्यहरुलाई एउटा मुद्दामा २३ करोड ६१ लाख २२ हजार सात सय ५९ रुपैयाँको विगो लगाइएको छ भने अर्काे मुद्दामा १९ करोड ५२ लाख २० हजार ८०० रुपैयाँको विगो लगाइएको छ । यसरी गगन पुरी तथा परिवारलाई कूल ४३ करोड १३ लाख ४३ हजार ५५९ रुपैयाँको मागदावी गरिएको छ ।
बालुवाटार– २ जग्गा घोटाला गरेर गगनले ती जग्गा प्लटिङ गरी कैयन मानिसलाई बेचेको पाइएको छ । त्यसरी जजसले जग्गा किनेका छन्, ती सबैको जफत हुने गरी अख्तियारले मुद्दा दायर गरेको हो । काठमाडौंको बालुवाटार जग्गा घोटालामा पनि यस्तैयस्तै खालको मुद्दा दायर भएको थियो ।
त्यसरी मुद्दा दायर भएपछि अदालतले सबै जग्गा जफत गरेर सरकारी हुने फैसला गरेको थियो । थाहा पाएर या नपाएर जग्गा किन्नेहरु सबैको जग्गा जफत भयो । त्यसरी मर्कामा पर्नेहरुले जसले जग्गा बेच्यो उसैसँग रकम फिर्ता माग्नुपर्ने या मुद्दा गर्नुपर्ने भनी अदालतले फैसला दिएको थियो । बालुवाटार– २ मा पनि जग्गा किन्नेहरुको हकमा यस्तै फैसला आउने आकलन अधिवक्ताहरुले गरेका छन् ।
गगन पुरी माओवादीका नेता हुनुहुन्छ । उहाँले अवैध सम्पत्ती आर्जन गरेको भनी विशेष अदालतले केही दिन अघि चार करोड रुपैयाँभन्दा धेरै जरिवाना गर्ने र केही सम्पत्ती जफत गर्ने फैसला गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्