जनता टाइम्स

१४ फाल्गुन २०८०, सोमबार १०:००

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार पक्राउ, माओवादीका उच्च नेताको पनि संलग्नता देखियो


काठमाडौं, फागुन १४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणका मुख्य योजनाकार पक्राउ परेका छन । सुन तस्करमा मुख्य योजनाकार रहेका काठमाडौंको प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले गएराती पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को बिशेष टोलीले गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयले गुरुङ नै सुन तस्करीमा मुख्य योजनाकार रहेको जनाउँदै पक्राउ गरी बुझाउन प्रहरीलाई पत्राचार गरेको थियो ।

प्लाटिनम कलेज डिल्लीबजार कालिकास्थानमा रहेको छ । गुरुङले सोही कलेज र सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुको आडमा दुबईबाट सुन तस्करी गर्ने गरेका थिए । उनले पछिल्लोपटक तस्करी गरी ल्याएको १४ किलो सुन पक्राउ परेपछि यो घटनाको पर्दाफास भएको हो । सो घटनाको छानविन गर्दा तस्करी गरेर ल्याएको सुनको गुरुङ नै मुख्य योजनाकार रहेको पाइएको थियो ।

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको छ । पर्वत स्थायी घर भएका गुरुङ पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थिए ।

यस प्रकरणमा चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भइसकेको छ । गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार समेत रहेका थिए । सोही पदको आडमा लामो समयदेखि उनले तस्करी धन्दा चलाएको पाइएको छ । यो सुन तस्करी प्रकरणमा माओवादीका उच्च नेता पनि संलग्न रहेको देखिएको छ । गुरुङ पक्राउपरेपछि यो तथ्य थप उजागर हुने समितिका सदस्यहरुको अपेक्षा छ ।