जनता टाइम्स

१४ फाल्गुन २०८०, सोमबार १६:१५

राष्ट्रिय सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने


काठमाडौं, १४ फागुन । राष्ट्रिय सभा पेस भएको आर्थिक वर्ष २०८१र८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’माथि चारदिन छलफल हुने भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१र८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावमाथि छलफल गर्न सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चारदिनको समय तोक्नुभएको हो ।

बैठकमा उहाँले सो प्रस्तावमाथि यही फागुन १७, २७, २९ र ३० गते छलफल हुने जानकारी गराउनुभएको हो । दलीय आधारमा छलफल गरिने भएकाले छलफलमा भाग लिने आ–आफ्ना वक्ताको नाम बैठक सुरु हुनुभन्दा एक दिनअगाडि नाम टिपाउन उहाँले भन्नुभएको छ । साथै सभाध्यक्ष तिमिल्सिनाले छलफलका क्रममा सांसदहरुले दिएको सुझावको टिपोट गर्न अर्थमन्त्रालयलाई निर्देशन दिनुभएको छ ।