काठमाडौं, फागुन १५ । प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित उच्च अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत रहनुभएका प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
न्यौपानेसँगै सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पनि पक्राउ परेका छन । प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सिआईबी स्रोतले जनाएको छ ।
सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओको रुपमा कार्यरत रहनुभएको छ । सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाउनु भएको थियो । लामो समय सीईओ नभए पनि नेपाल राष्ट्र बैंकले सीईओ नियुक्त गर्न दबाब दिएसँगै बैंक सञ्चालक समितिले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिएको थियो ।
सो बेला न्यौपानेले कर्जा बितरणमा बदमासी गरेको पाइएकोले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैंकको अनुरोधमा सिआइवीले उनीहरुमाथि छानविन अघि बढाएको र सोही क्रममा पक्राउ गरिएको सिआइवीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्