जनता टाइम्स

१५ फाल्गुन २०८०, मंगलवार १९:०३

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देव नियुक्त


काठमाडौं, १५ फागुन । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा। सतिशकुमार देवलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।  डा. देव करिव एक वर्षअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष नियुक्त हुनुभएको थियो ।

उहाँको नियुक्ति बदरको माग गर्दै राष्ट्रिय युवा संघका उपाध्यक्ष अनिल काफ्लेले उच्च अदालत पाटन हेटौंडा इजलासमा रिट निवेदन दर्ता गर्नुभएको थियो । त्यसपछि देवले नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो ।

चिकित्सा अध्ययन संस्थानको सह–प्राध्यापक हुँदा गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको अभियोगमा उहाँमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दासमेत दायर गरेको थियो । उहाँ यसअघि २०७२ सालमा देवदह मेडिकल कलेज सम्बन्धन दिने क्रममा भ्रष्टाचारको आरोपमा मुछिनुभएको थियो । विशेष अदालतमा परेको मुद्दामा उहाँसहित १७ जनाले सफाइ पाउनुभएको थियो ।