जनता टाइम्स

१५ फाल्गुन २०८०, मंगलवार २०:४०

डडेल्धुराको रंगुन खोलामा बेहोस फेला परेका युवाको मृत्यु


धनगढी, १५ फागुन । डडेल्धुराका एक युवकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका–८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु विकको मृत्यु भएको हो । उनको घर डोटीको जोरायल गाउँपालिकाका–१ भानाकोट रहेको प्रहरीले बताएको छ ।

बेहोस अवस्थामा रहेका उनलाई जोगबुढा अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको डडेल्धुरा प्रहरीले बताएको छ ।

उनी ट्याक्टर चालक हुन् । ट्याक्टरको ब्याट्री झिकेर खोलामा गएका उनी माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए । सहचालकले खबर गरेपछि घटनास्थलबाट उनलाई एम्बुलेन्समा राखेर जोगबुढा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ ।