जनता टाइम्स

१७ फाल्गुन २०८०, बिहीबार १९:३५

बिशेष अदालतबिरुद्ध फेरि सर्वाेच्च पुग्यो अख्तियार


काठमाडौं, फागुन १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बिशेष अदालतबिरुद्ध सर्वाेच्च अदालतमा ढोका ढकढक्याएको छ ।

विशेष अदालतबाट भएको फैसलाको अर्को मुद्दाका विरुद्ध अख्तियारले सर्वोच्च अदालतको ढोका ढकढकाएको हो । अख्तियारले विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको हो । प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको बताउनु भयो ।

अख्तियारका अनुसार चार वर्षअघि सामुदायिक वनको काठ अवैध रुपले लैजान लाग्दा इलाका प्रहरी कार्यालय विपीनगर डोटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नृपबहादुर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष चक्रबहादुर साउदलाई स्थानीयले रंगेहात समातेका थिए ।

रातको समयमा ट्याक्टरमा काठ लोड गरेको देखेपछि स्थानीयले दुवै जनालाई काठसहित नियन्त्रणमा लिएका थिए । सोही घटनाको बिषयमा छानविनपछि अख्तियारले २०७७ असार ७ गते उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तर विशेष अदालतको गत असार २० गतेको फैसलाले प्रतिवादीहरुलाई सफाई दिएपछि अख्तियार सो फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत पुगेको हो । अख्तियारले बिशेषको अन्य फैसलामा पनि चित्त बुझेन भन्दै सर्वाेच्चको ढोका ढकढक्याएको छ ।