जनता टाइम्स

१९ फाल्गुन २०८०, शनिबार १५:४१

नेदरल्याण्डसलाई हराउँदै त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुग्यो नेपाल


काठमाडौं, फागुन १९ । नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ ।

आज भएको खेलमा नेपालले नेदरल्याण्डसलाई फराकिलो विकेटको अन्तरमा पराजीत गरेर फाइनलको यात्रा तय गरेको हो । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ ।

सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ खेलमा हारसहित ४ अंकका साथ शीर्षस्थानमा रहेको छ । नेदरल्यान्ड्सको नेटरनरेट ०.३१० छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ०.२९३ छ । नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । नामिवियाको नेटरनरेट माइनस ०.७०० छ ।

यो अवस्थामा आइतबार नेदरल्यान्ड्स विजयी हुँदा सोझै फाइनलमा पुग्नेछ । नामिबिया विजयी भएमा भने नेटरनरेटमा भर पर्नेछ । यी दुईमध्ये नेटरनरेटमा माथि रहने टोलीले फाइनल खेल्नेछ । नेपाललाई नेटरनरेटमा नेदरल्यान्ड्स र नामिवियामध्ये एक टोलीले मात्रै अव पछि पार्न सक्छन् । त्यसैले नेपाल फाइनल खेल्ने पक्का भएको हो ।

 

नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तेस्रो खेलमा नामिवियालाई ३ रनले हराएको थियो । फाइनल खेल मंगलबार हुनेछ ।

शनिबार कीर्तिपुर मैदानमा नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ शेखले ८ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो ।