जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार १३:५९

सुदूरपश्चिममा पनि कांग्रेसले लियो बदला, मुख्यमन्त्रीले गरे माओवादीका ३ मन्त्रीलाई बर्खास्त


कैलाली, फागुन २१ । नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशमा पनि माओवादीलाई बदला लिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति शेरबहादुर देउवाको निर्देशनमा माओवादीका मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको छ ।

केन्द्रमा बनेको नयाँ गठबन्धन पछि प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले आज बर्खास्त गर्नुभएको हो । माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले बर्खास्त गर्नुभएको हो ।

कांग्रेस नेतासमेत रहनुभएका मुख्यमन्त्री शाहले रिक्त दुई मन्त्रालय आफैँसँग राख्नुभएको छ । यसअघि गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादीका २ मन्त्री बर्खास्त गर्नुभएको थियो ।

गण्डकीबाट सुरु भएको बर्खास्तगीको अभियान सुदुरपश्चिममा पनि पुगेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेर संघीय सरकारबाट कांग्रेस मन्त्री बर्खास्त गरेपछि कांग्रेसले पनि आफ्नो नेतृत्व रहेको प्रदेश सरकारबाट माओवादीका मन्त्रीलाई हटाए दिएको हो ।