जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार १९:४१

गठबन्धन फेरिएसँगै लुम्बिनीमा गर्न लागिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित


बुटवल, फागुन २१ । संघमा नयाँ गठबन्धन बनेपछि फागुन २८ र २९ लुम्बिनीमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ । सत्ता गठबन्धन परिवर्तनसँगै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन स्थगित गर्नुभएको हो ।

मुख्यमन्त्री चौधरीले संघीय सरकारमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलन पनि स्थगित गर्ने अवस्थामा पुगेको बताउनु भयो । ‘राजनीतिक समीकरण फेरिएपछि सम्मेलन हुन नसक्ने अवस्था सिर्जना भयो,’ चौधरीले भन्नुभयो । सम्मेलनको विषयमा लुम्बिनी प्रदेशका प्रतिपक्षदलसहित सत्तापक्षमै रहेको माओवादीले पनि असन्तुष्टि जनाइरहेको थियो ।

लुम्बिनी प्रदेश सरकारको असोज १८ गतेको निर्णय र संघीय सरकारको कात्तिक २ गतेको निर्णय अनुसार लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एण्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ गर्न लागेको थियो । सम्मेलनमा सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्रप्रमुख, पूर्वप्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो ।

विश्वव्यापी रूपमा बालबालिकाको उत्थान प्रकृयामा देखिएका चुनौती र विपन्नतालाई अन्त्य गर्न, विकास प्रयासका एकिकृत र साझा दृष्टिकोणसहित एउटै आवाज र ठोस प्रतिबद्धता विकास गर्न र अन्तराष्ट्रिय रुपमा लुम्बिनीको ब्राण्डिङ गर्न लुम्बिनी प्रदेश सरकारले शिखर सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका केही राष्ट्रका प्रमुख, सरकार प्रमुख, पूर्वप्रमुख, नोबेल पुरस्कार बिजेता, विश्वव्यापाी निर्णय निर्माता, विपन्नताबाट माथि उठेका अनुभवी युवा र युवा नेताहरुसहित नेपाली र विदेशी गरी ३ सय बढी विज्ञ सहभागी हुने तयारी थियो । लुम्बिनीका मुख्यमन्त्री चौधरीका अनुसार अनुसार नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१९९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेमाह ग्बोवी र तावाक्कोल कर्म्यान सहभागी हुने कार्यक्रम थियो ।

त्यस्तैगरी सन् २०१५ का नाबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउने निश्चित भएको थियो ।

त्यस्तै शिखर सम्मेलनको अवसरमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायत पनि लुम्बिनीमा आउने टुंगो लागेको थियो ।