जनता टाइम्स

२४ फाल्गुन २०८०, बिहीबार ०८:२६

संसद् बैठकअघि कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

अप्रत्यासित रुपमा सत्ता शक्तिबाट विमुख भएपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षीको भूमिकामा धकेलिएको छ ।

बिहीबार सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको हो ।

बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

उनका अनुसार बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजे संसदीय दलको बैठक बोलाइएको छ ।