जनता टाइम्स

२४ फाल्गुन २०८०, बिहीबार १४:२८

कांग्रेस अब रचनात्मक प्रतिपक्षमा बस्छ : रमेश लेखक


काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकका निर्णयबारे जानकारी गराउँदै आफ्नो पार्टीले तत्कालीन गठनबन्धनप्रति इमानदारिता र सदासयता देखाउँदादेखाउँदै अकारण नयाँ गठबन्धन बनाइएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सुनाउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पुनर्गठित सरकार संविधानको रक्षा, विद्यमान व्यवस्थाको सुदृढीकरण र मुलुकका दिगो शान्ति, सुशासन, समृद्धि र स्थिरता कायम गर्न सफल होस् भन्ने कामना पनि गर्नुभयो । त्यस्तै विगतमा उत्तः लक्ष्यका साथ नै आफूहरुले बनाएको गठबन्धन एकाएक टुटेको विषयमा आश्चर्य व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हामीले नेताहरुका बिचमा मात्रै होइन जनताका माझमा कसम खाएर निर्वाचन जितेर आएका थियौँ । नेपाली कांग्रेसले गठबन्धनको संस्कृति र मूल्य, मान्यताअनुसार निष्ठा र मर्यादाका साथ सहयात्रा पालना गरिरहेको अवस्थामा पछिल्लो समयमा गठबन्धनप्रति अविश्वास हुने गरी प्रस्तुत हुने प्रवृत्ति बढ्यो । सानातिना मुद्दा उछालेर प्रधानमन्त्री दाहालले एकपक्षीय ढङ्गले हामीसँगको गठबन्धन तोड्नुभयो ।’

प्रतिपक्षमा रहेर रचनात्मक भई नमूनायोग्य काम गर्ने स्मरण गराउँदै उहाँले राम्रा कामको तारिफ गर्ने र कमजोरीका विषयमा रचनात्मकरुपमा विरोधी हुने बताउनुभयो । उहाँले थप्नुभयो,‘प्रधानमन्त्रीले कुनै मन्त्रीले काम गरेन वा काम गर्न दिएन भनेर भाग्न पाइँदैन । प्रधानमन्त्री देश र सरकारको नेता हो । समग्र कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ ।’