काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकोमा असन्तुष्टि जनाउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उहाँले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आफूले बेइमानी नगरेको दाबी गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको भन्दै अरुसँग जानेबित्तिकै त्यस्तो नहुने जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘आफूसँग हुँदा इमान, अरुसँग जाने बित्तिकै बेइमान भन्ने हुँदैन। सोझो भाषामा भन्न चाहन्छु, राजनीतिमा केही आशंका आएपछि यो भएको हो ।’ उहाँले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटिको कारणले मैले यो कदम सोचेरै यो कदम चालेको बताउनुभयो ।
‘कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ, भर्खरै मैले समाचारमा पढेँ । नेपाली कांग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पढेँ। यथार्थ के हो, अहिले नेपाली कांग्रेसका प्रतिनिधिले भन्नुहोला,’ उहाँले थप्नुभयो, ‘यसलाई मैले जसरी संक्षिप्तमा व्याख्या गर्ने कोसिस गरेँ, राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटीको कारणले मैले यो कदम सोचेरै चालेको छु ।’













प्रतिक्रिया दिनुहोस्