जनता टाइम्स

२४ फाल्गुन २०८०, बिहीबार २१:१८

अर्थमन्त्री वर्षमानको घोषणा : बैंकको ऋण तिर्दिन भन्ने दुर्गा प्रसाईसहित सवैलाई सरकारले नियन्त्रणमा लिन्छ


काठमाडौं, फागुन २४ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले ले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिने अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिनुभएको छ ।

आफूलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आएका नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताउनु भयो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ऋण नर्तिन भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी पनि अर्थमन्त्रीले दिनुभयो ।

‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन’, पुनले भन्नुभयो, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन।’ निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबल गिर्न नदिने प्रतिबद्धतापनि उहाँले जनाउनु भएको छ ।

मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पुनले उल्लेख गरे। ‘सरकारले लगानीको वातावरण बनाउँछ। सुरक्षाको प्रत्याभूति दिलाउँछ’, अर्थमन्त्री पुनले भन्नुभयो, ‘निजी क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्छ।’

सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने प्रतिबद्धता उहाँको छ । मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गर्नुभयो।

फरक प्रसंगमा उनले सत्तारुढ गठबन्धनमा भएको परिवर्तनका कारण पूर्वनिर्धारित लगानी सम्मेलन प्रभावित नहुनेसमेत स्पष्ट गर्नुभयो भेटमा संघका अध्यक्ष सुनिल केसीसहित संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकसंहरुले आग्रह गरेका थिए।