जनता टाइम्स

२५ फाल्गुन २०८०, शुक्रबार १६:१२

अहिलेसम्म चार लाख बढीले गरे पशुपतिनाथको दर्शन


काठमाडौं, २५ फागुन । पशुपतिनाथ मन्दिरमा (यस समाचार तयार पार्दासम्म) आज  ४ लाख बढी भक्तजनले दर्शन गरिसक्नुभएको छ । महाशिवरात्रिका अवसरमा आज लाखौं बढी भक्तजनले को दर्शन एवं पूजाअर्चना गर्नुभएको छ । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको छ । भीड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैढोका बिहान २ बजेदेखि खोलिए पनि भीड भने घटेको छैन । दर्शन गर्ने पालो छिटो पाउने आसमा दर्शनार्थी रातिदेखि नै लामबद्ध भएर बसेका थिए । केही भक्तजनहरु भने बिहानै दर्शन गरेर फर्किसक्नुभएको छ ।