जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १८:४९

एनआरएनए उपाध्यक्षका उम्मेद्वार अर्जुनकुमार श्रेष्ठले गरे आफ्नो एजेण्डा सार्वजनिक, प्राथमिकतामा परे यी मुद्दा


काठमाडौं, असोज ७ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसी) को उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएका पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले आफ्नो एजेणसमेत सार्वजनिक गर्नुभएको छ । श्रेष्ठले विज्ञप्ती जारी गर्दै २०१९–२१ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणासहित एजेण्डा सार्वजनिक गर्नुभएको हो ।

एनआरएनएको नवौं विश्व सम्मेलन तथा राष्ट्रिय महाधिवेशन आगामी अक्टूबर १५–१७ मा काठमाडौंमा हुँदैछ । एनआरएन अभियानमा विश्वका ८० भन्दा बढी मुलुकबाट ६० लाखभन्दा बढी नेपाली सहभागी छन् । श्रेष्ठले उम्मेदवारी घोषणासँगै आफ्ना केही एजेन्डा अगाडि सार्नुभएको हो । ‘गैरआवासीय नेपाली अभियान सुरु भएको १६ वर्षमा हाम्रा माग पूरा गरेर सरकारले विकास साझेदार बन्ने बाटो खोलेको छ,’ विज्ञप्तीमा लेखिएको छ, ‘गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकतालाई नयाँ संविधानले समेटेको छ । तर, ऐनमार्फत पूरा गर्नुपर्ने कामका लागि निरन्तर दबाब दिन आवश्यक छ ।’

गैर आवासीय नेपालीहरुको सामूहिक अभियानले नेपालमा लगानी भित्र्याएको उल्लेख गर्दै श्रेष्ठले सामाजिक क्षेत्रमा पनि यस अभियानले ठूलो योगदान पुर्याएको उल्लेख गर्नुभएको छ । ‘संयुक्त लगानीमा सञ्चालन भइरहेका परियोजनालाई अझ अगाडि बढाउनुपर्ने दायित्व छ,’ श्रेष्ठले भन्नुभएको छ, ‘सँगसँगै नेपाल सरकारले परिकल्पना गरेको समृद्ध नेपालः सुखी नेपालीमा योगदान पुर्याउने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नुपर्ने दायित्व छ ।’ समृद्ध नेपाल नभएसम्म विदेशमा बस्ने कोही पनि नेपालीको व्यक्तिगत समृद्धिले अर्थ नराख्ने बताउँदै उहाँले मुलुकको समृद्धिका लागि लगानी भित्र्याउने कार्यमा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

‘विदेशमा सिकेका सीप र प्रविधिलाई नेपालको विकासका लागि प्रयोग गर्ने वातावरण तयार गर्नेछु,’ विज्ञप्तीमा भनिएको छ । वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीको उद्दार र राहतका लागि विशेष पहल गर्ने, गैरआवासीय नेपालीलाई एनआरएनएमा एकत्रित गर्दै साँच्चिकै बलियो संस्थाकोरुपमा स्थापित गर्न सक्रिय रहने र नेपालमा व्यक्तिगत रुपमा भइरहेका परोपकारी कार्यलाई थप प्रोत्साहन गर्ने र संस्थागत परोपकारी कामलाई प्राथमिकतामा राख्ने योजना पनि सुनाउनु भएको छ । श्रेष्ठले एनआरएनए स्पोर्टर्स एकेडेमी स्थापना र सञ्चालनका लागि सम्पूर्ण समयसहित योगदान गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

पर्वतमा जन्मिनुभएका ४६ वर्षीय श्रेष्ठ सन् २००५ देखि बेल्जियम बस्दै आउनुभएको छ । दुई कार्यकाल एनआरएनए आईसीसी सदस्य, एक कार्यकाल यूरोप क्षेत्रीय संयोजक र एक कार्यकाल केन्द्रीय सचिवको जिम्मेवारी सम्हालीसक्नु भएका श्रेष्ठ अव नेतृत्वको लागि उपाध्यक्षमा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको हो । मिलनसार र समाजसेवाको भावनाले ओतप्रोत रहेका श्रेष्ठको होटल, रेस्टुरेन्ट, रेमिट्यान्स, औषधि उद्योग, फार्मेसी, आयात/निर्यात, ट्रेडिङ, हार्डवेयर, बैंकिङलगायतका क्षेत्रमा लगानी छ ।