जनता टाइम्स

२७ फाल्गुन २०८०, आईतवार १३:४८

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद बिस्तार, जसपाका उपेन्द्रसहित दुई मन्त्रीले लिए शपथ


काठमाडौं, फागुन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज जनता समाजवादी पार्टीबाट २ मन्त्री थपेर मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो । योसँगै सरकारले पूर्णता पाएको छ ।

उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नवकिशोर शाह वनमन्त्री नियुक्त हुनुभएको छ । यादवसहित प्रचण्ड सरकारमा चारजना उपप्रधानमन्त्री नियुक्त हुनुभएको छ । एमालेका रघुवीर महासेठ पहिलो वरियतामा रहँदा नारायणकाजी श्रेष्ठ, रवि लामिछाने क्रमशः दोस्रो र तेस्रो वरीयतामा छन् । यादवलाई अन्तिम वरीयतामा राखिएको छ ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादका अध्यक्ष माधवकुमार नेपाललगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

जसपा अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि २०७५ मा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७९ मा सप्तरी १ बाट निर्वाचित नवलकिशोर साह यसअघि मधेस प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुनुहुन्थ्यो ।