जनता टाइम्स

२७ फाल्गुन २०८०, आईतवार २०:३१

भुईंमान्छेले महसुस गर्नेगरी काम गर्छु : कानूनमन्त्री गिरी


काठमाडौं, २७ फागुन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले विगतको एक डेढ वर्षमा नेपाली जनताले चरम निराशा र बेरोजगारी भोग्नुपरेको भन्दै भुईमान्छेले महसुस गर्नेगरी काम गर्ने बताउनुभएको छ । रुपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गिरीले सबै जनतामा रहेको निराशालाई चिर्ने अभिभारा यो सरकारलाई आइपरेको भन्दै सरकारले त्यसलाई पूरा गर्ने दाबी गर्नुभयो । उहाँले रोजगारी अभावमा युवा विदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

‘उहाँले भन्नुभयो,‘आज हाम्रा साथीहरु देशभित्र रोजगारी नपाएर विदेशिनु परेको छ । यो अत्यन्तै कहालीलाग्दो र चिन्ताजनक दृश्य हाम्रो अगाडि छ । म तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु, अब नेपाली युवाहरु विदेशतीर पलायन हुने होइन, यही देशभित्र रोगगारी श्रृजना गर्ने, यही देशभित्र मेरो भविष्य छ भनेर आमजनतालाई विश्वास दिलाउने काम अब हामीले गर्नुपर्नेहुन्छ ।’ उहाँले नेपालमा छोटो–छोटो समयमा सरकार परिवर्तन हुने गरेको तथ्य स्मरण गर्दै यसमा विभिन्न शक्तिहरुको चलखेल रहने गरेको बताउनुभयो ।

उहाँले थप्नुभयो,‘हाम्रो देशमा भएको राजनीतिक अस्थिरता, वर्ष दिन पनि नपुग्दै सरकार परिवर्तन हुने गर्दा पनि हाम्रो विकास निर्माणका कामहरु अवरुद्ध भएका छन् । हामीले जुन ढंगले विकासको गतिलाई अगाडि लानुपर्थ्यो, लान सकेका छैनौं । यो यथार्थ हो ।’ आफूले कानुनमन्त्रीका रुपमा पाएको जिम्मेवारीलाई भूईंमान्छेले महशुस गर्नेगरी पूरा गर्ने वाचा पनि गर्नुभयो ।

उहाँले भन्नुभयो,‘कानुनमन्त्रीको रुपमा नयाँ जिम्मेवारी प्राप्त गरेको छु । मलाई राम्रोसँग थाहा छ देशको विकाश एउटा राम्रो बाटोले मात्रले हुँदैन, दुई चारवटा खानेपानीका धाराले हुँदैन । दुई–चार वटा अस्पताल बनाउँदैमा पनि देश बन्दैन । देश बन्नका लागि असल नीति बन्नपर्छ । असल कानून निर्माण गर्नुपर्नेछ । अत्यन्तै गरिब भूईंमान्छेका हितमा कानुन बनाउनुपर्नेछ । पारदर्शिता र सुशासनका निम्ति चाहिने कानुनहरु बनाउनुपर्नेछ । सार्वजनिक हितका निम्ति काम गर्नुपर्नेछ । त्यो काम गर्नका निम्ति मैले रातभरी नसुतेर भएपनि म खट्नेछु, मेरो टिम खट्नेछ । यो नेपालको इतिहासमा कानून मन्त्रालयको तर्फबाट सबै जिम्मेवारी पूरा गरेको थियो भनेर आमजनताले भन्नसक्ने गरी लागि पर्नेछु ।’

यस्तै उहाँले प्राप्त जनादेशले पनि सरकारलाई आफ्नो काम गर्न सजिलो नभएको सुनाउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो नेपालको जनमत पनि त्यस्तै प्रकारले प्राप्त भयो । एउटै पार्टीले बहुमत प्राप्त नगर्ने, एउटै पार्टीले पाँच वर्ष काम गर्न पनि नपाउने, अनि एउटा पार्टीले सरकार बनाउँदा एउटा काम सुरु भएको हुन्छ अनि अर्को सरकार आएपछि त्यो काम छोडेर, अर्को काममा प्रवेश गर्छ, जसले गर्दा हाम्रो राज्यका अरबौअरब लगानीहरु बालुवामा पानी हालेजस्तो भएको छ । खेर गइरहेको छ । हाम्रा विकासको गतिहरु रोकिएका छन् । हाम्रा विकास र सम्वृद्धि र सपनाहरु त्यतिकै अधुरो भएका छन् । यसले हामी सबैलाई चिन्तित तुल्याएको छ ।’