जनता टाइम्स

२९ फाल्गुन २०८०, मंगलवार १८:३४

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिको ह्वीप


काठमाडौं, १९ फागुन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको छ । उहाँले भोली बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा चार जना सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिनुभएको छ ।

‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ ।

सरकारमा जानेरनजाने विषयमा श्रीमान् श्रीमतीबीच विवाद भइरहेका बेला अध्यक्ष श्रेष्ठले ह्वीप जारी गर्नुभएको हो । उहाँका श्रीमान् रेशम चौधरीले संघ सरकार नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने अडानमा छन् भने रञ्जिता एमाले–माओवादी गठबन्धनमा जाने पक्षा हुनुहुन्छ । जसका कारण उहाँहरूबीच चर्को मतभेद हुँदै आएको छ ।