जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार ०८:४१

एमाले डोटीमा प्रतिनिधि छनोट बिवाद चर्कियो : जिल्ला कमिटी बैठक स्थगित, निर्धारित मितिमा अधिवेशन अनिश्चित


डोटी, फागुन ३० । नेकपा एमाले डोटीको नवौं अधिवेशन प्रतिनिधि छनौट विवादका कारण अनिश्चित बनेको छ । यही चैत २ र ३ गतेका लागि तय भएको अधिवेशनका लागि छनोट भएका प्रतिनिधि मापदण्डबिपरित रहेको पाइएपछि संगठन बिभागले हस्तक्षेप गरेको छ ।

संगठन बिभागले छानविन गरी बिवादको समाधान गरेर मात्रै अधिवेशन गर्न निर्देशन दिएपछि अधिवेशन नै अनिश्चित बनेको हो । मापदण्ड विपरित अधिवेशन प्रतिनिधि छनौट भएको भन्दै पार्टी केन्द्रीय संगठन बिभागमा उजुरी परेपछि विभागले सो विषयमा छानबिन गर्न सुदूरपश्चिम प्रदेश अध्यक्षलाई निर्देशन दिएको छ ।

आयोजक कमिटीका सदस्यहरू वडाबाट प्रतिनिधि चुनिएर आउनुपर्नेमा त्यसो नभई स्वतः प्रतिनिधि कायम गरिएको, प्रतिनिधिहरुको छनौट समावेशी नभएको, पार्टीको विधानअनुसार मापदण्ड पूरा नभएका व्यक्ति प्रतिनिधि चुनिएको, निष्क्रिय तथा गठन नभएका जनसङ्गठनबाट समेत प्रतिनिधि बनाइएको लगायतका आरोपसहित लिखित र मौखिक उजुरी परेको भन्दै संगठन विभागले छानविन गर्न निर्देशन दिएको छ ।

सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले उजुरीको आधारमा आवश्यक छानबिन गर्नुपर्ने भन्दै प्रतिनिधिको विवाद समाधान गरेर मात्रै अधिवेशन गर्न सुदूरपश्चिम प्रदेश कमिटीलाई निर्देशन दिनुभएको छ । संगठन बिभागको पत्रलगत्तै बिवादको बिषयमा छानविन गर्न प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी मंगलवार डोटी पुग्नुभएको छ । प्रदेश अध्यक्ष जैशीले बुधवार साँझसम्म आफ्नो आफ्नो प्रतिवेदन दिने बुझिएको छ ।

अधिवेशन तोकिएकै मितिमा हुने वा सर्ने बिषयमा कुनै आधिकारिक निर्णय नभएको एमाले डोटीका सचिव शेरवहादुर मल्लले जानकारी दिनुभयो । एमाले डोटीले आजका लागि बोलाएको जिल्ला कमिटी बैठक पनि प्रतिनिधि विवादकै कारण स्थगित भएको छ ।