जनता टाइम्स

८ आश्विन २०७६, बुधबार १२:१३

कृषि बिकाश बैंक रकम चोरी प्रकरण : बैंककै उच्च अधिकारीको पासवर्डबाट रकम सारिएको खुलासा


काठमाडौं, असोज ८ । कृषि विकास बैंकको डेढ करोड भन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै उच्च अधिकारीको पासवर्ड दुरुपयोग भएको तथ्य खुलेको छ । सिरहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्डमार्फत सात जना ग्राहकको खातामा बैंकको पैसा जम्मा भएको हो ।

बैंक स्रोतका अनुसार बैंकमा रकम जम्मा गर्दा पासवर्ड प्रयोग गरिन्छ । त्यस्तो पासवर्ड धेरै कर्मचारीले प्रयोग गरिरहेका हुन्छन । सोही पासवर्ड दुरुपयोग गरी बैंकको पैसा ब्यक्तिको खातामा जम्मा भएको पाइएको हो । ‘बैंकमा पैसा नआउँदा पनि ती व्यक्तिहरूको खातामा पैसा जम्मा भयो। यसरी पासवर्डको दुरूपयोग गर्ने बैंककै कर्मचारी हुन् कि होइनन् भन्ने अनुसन्धान हुँदैछ,’ अनुसन्धानमा संलग्न बैंकका एक अधिकारीले भने ।

बैंक स्रोतका अनुसार उक्त पासवर्डबाट गत आइतवार (असोज ५ गते) १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारिएको थियो । त्यसलगत्तै त्यसपछि देशका विभिन्न ठाउँबाट जम्मा गरिएको रकम निकालिएको पाइएको छ । बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार हाल सो समूहले पैसा जम्मा गरेका सात वटै खाता बन्द गरिएको छ । ‘यो प्रकरणमा कुनै ग्राहकको खाताबाट नभई बैंकको पैसा गएको छ,’ प्रवक्ता पौडेलले भन्नुभयो । उहाँले रकम चोरी गर्दा बैंकको सिस्टम ह्याक भने नभएको बताउनु भयो ।

कृषि बिकाश बैंकको डेढ करोड रुपैयाँ अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले अभियुक्तहरुले बैंकको कति रकम झिकेका छन भन्ने निश्कर्षमा पुगिनसकेको बताएको छ । नेपाल प्रहरीको साइबर सुरक्षा टोली र बैंकको विज्ञ टोलीले यसबारे अनुसन्धान अघि बढाएको छ ।