जनता टाइम्स

३ चैत्र २०८०, शनिबार १०:०७

एमाले कञ्चनपुरको अध्यक्षमा ४ जना दावेदार, उपाध्यक्ष-सचिव र उपसचिवमा पनि दर्जनौं आकांक्षी


एमालेसुदुरपश्चिम प्रदेश इञ्चार्ज सचिव छबिलाल बिश्वकर्मा, कञ्चनुपुर इञ्चार्ज नारदमुनि राना, पोलिटब्यूरो सदस्य राजेन्द्र रावल र निरु पाल सहमतिमै जोड दिएर अध्यक्षमालक्ष्मी बुढा र सचिवमा पल्लभराज भट्टलाई नै दोहोर्याउन चाहिरहनु भएको छ । कार्यबहाक अध्यक्षका रुपमा बुढाले राम्रो काम गर्नुभएकोले अध्यक्ष बनाउने उहाँहरुको चाहना रहेको छ ।

महेन्द्रनगर, चैत ३ । नेकपा एमाले कञ्चनपुरको नेतृत्व लिन चार जना आकांक्षी देखिएका छन । नवौं जिल्ला अधिवेशन जारी रहँदा अध्यक्षमा लक्ष्मी बुढा, पल्लवराज भट्ट, अशोककुमार चन्द र हिरा चन्दले दावी गर्नुभएको छ ।

बिसं ०५३ सालदेखि विद्यार्थीबाटै राजनीतिक यात्रा सुरु गर्नुभएकी लक्ष्मी बुढा अहिले कार्यबहाक अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । महिला नेतृ बुढाले जिल्लाको नेतृत्व लिएर पार्टीलाई सुदृढ बनाउने योजना सुनाइरहनु भएको छ । यस्तै ०४६ साल विद्यार्थीबाट राजनीतिक यात्रा गर्नुभएका पल्लवराज भट्ट एमाले कञ्चनपुरका सचिव हुनुहुन्छ, भट्टले पनि जिल्ला अध्यक्षको दावी गर्नुभएको छ ।

अध्यक्षका दावेदार देखिएका भट्ट र बुढा ८ औँ अधिवेशनमा सचिव र उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । वेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्दलाई ८औँ अधिवेशनमा सचिवमा पराजित गरी भट्ट निर्वाचित हुनुभएको थियो । सचिवमा भट्टसँगै पराजीत नेता चन्द अहिले अध्यक्षको आकांक्षी हुनुहुन्छ । ०४६ साल विद्यार्थीबाटै राजनीतिमा आउनुभएका चन्द युवाहरुलाई पार्टीमा आकर्षण बढाउने नारा दिएर चुनावी मैदानमा उत्रनुभएको छ ।

०४६ सालदेखि विद्यार्थीबाटै राजनीतिमा जोडिएका हिरा चन्द पनि अध्यक्षको दावेदार हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट उदाउनु भएका हिरा शैक्षिक, प्राज्ञिक क्षेत्रमा पनि जोडिनुभएका छ ।
चन्दद्वय एमाले सुदुरपश्चिम प्रदेशका पूर्वसचिवालय सदस्य हुनुहुन्छ ।

एमाले सुदुरपश्चिम प्रदेश इञ्चार्ज सचिव छबिलाल बिश्वकर्मा, कञ्चनुपुर इञ्चार्ज नारदमुनि राना, पोलिटब्यूरो सदस्य राजेन्द्र रावल र निरु पाल सहमतिमै जोड दिएर अध्यक्षमालक्ष्मी बुढा र सचिवमा पल्लभराज भट्टलाई नै दोहोर्याउन चाहिरहनु भएको छ । कार्यबहाक अध्यक्षका रुपमा बुढाले राम्रो काम गर्नुभएकोले अध्यक्ष बनाउने उहाँहरुको चाहना रहेको छ ।

एमाले कञ्चनपुरको अधिवेशनमा उपाध्यक्ष, सचिव र दुई उपसचिव पदमा पनि दर्जनौं आकांक्षी देखिएका छन । अधिवेशनमा सहमतिबाट नेतृत्व चयनको प्रयाश गरेको अध्यक्षमण्डलले आकांक्षीबीच सहमति नभए निर्वाचनमार्फत नेतृत्व चयन गर्ने गृहकार्य अघि बढाएको छ । अधिवेशनमा जिल्ला कमिटीसहित चार सय ६४ जिल्ला प्रतिनिधि रहेका छन ।

नेकपा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । जसअनुसार शुक्रवार नै प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको छ भने आजबाट त्यसमा दाबी विरोधको समय निर्धारण गरिएको छ । आज बिहान ९ बजेदेखि उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र भोलि मतदानको समय निर्धारण गरिएको छ ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर जिल्ला अधिवेशनको उदघाटन गर्नुभएको थियो । सो क्रममा अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयनको प्रयास गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।