चितवन, ६ चैत । जिल्लाको रत्ननगर नगरपालिकास्थित एकता शिशु निकेतनकी छात्रा शालीन पोखरेलको मृत्युपछि हिरासतमा रहेका तीन जना शिक्षकलाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले शालीन मृत्यु प्रकरणमा पक्राउ परेका विद्यालयका तीन शिक्षकलाई धरौटी जमानीमा छोडेर मुद्दा अघि बढाउन आदेश गरेको हो ।
आजदेखि भएको थुनछेक बहसपछि न्यायाधीश ज्ञवालीले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटालाई तीन लाख, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्राबासका वार्डेन कमलप्रसाद शर्मालाई पाँच/पाँच लाख धरौटीमा छोड्ने आदेश दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आइतबार कार्यालयले तीनै जना शिक्षकविरुद्ध शालीनको मृत्युमा आत्महत्या दुरुत्साहनको अभियोग लगाएर मुद्दा दर्ता गरेको थियो ।
गत फागुन १२ गते विद्यालयको होस्टलमा मृत भेटिएकी शालीनका बाबु दीपेन्द्र पोखरेलले भने हत्या अभियोगमा जाहेरी दिनुभएको थियो । चितवन प्रहरीले हत्या अभियोगमा अनुसन्धान गर्दा प्रमाण नपुगेपछि सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्