जनता टाइम्स

७ चैत्र २०८०, बुधबार १५:००

बेलबारी घटना : आमा मारेर बुबाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन


विराटनगर, ७ चैत । बेलबारीका ८ वर्षीय बबिन लिम्बू। उनी ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूका छोरा हुन्। उनी जम्मा २ कक्षामा पढ्दै थिए। बमबहादुर र गीताको बिहे कहिले भएको थियो यकिन भइसकेको छैन । प्रहरीका अनुसार अहिले यत्ति खुलेको छ, दुबैको दोस्रो बिहे थियो । बबिन उनीहरूका एक्ला छोरा हुन् । बुझ्नमा आएसम्म गीतापट्टीका जेठा श्रीमान् र बमबहादुरकी जेठी श्रीमतीका छोराछोरी छन् । कति कहाँ छन् सबै खुलेको छैन ।

गीताको पहिलेको घर धनकुटा हो। बमबहादुरको तेह्रथुम हो भन्ने बुझिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालका अनुसार गीतापट्टीकी पहिलेकी छोरी दमक रहेको पत्ता लागेपछि खबर गरियो । उनी प्रहरी कार्यालयमा आइसकेकी छिन् । बमबहादुरकी जेठीपट्टीका सन्तानको खोजी भइरहेको छ । दाहालका अनुसार बमबहादुर र गीता चार(पाँच वर्षअघि बेलबारी आएका थिए । उनीहरू बेलबारी नगरपालिका–१ की निर्मला राईको घरमा भाडामा बस्थे । एक तले भुइँघरमा उनीहरूले दुई कोठा भाडामा लिएका थिए । घरबेटी निर्मला एउटा कोठामा बस्थिन् ।

बमबहादुर र गीता त्यहीँ एउटा घरमा चिया बनाउने तथा मर्चा (जाँड बनाउने कच्चापदार्थ) बेच्थे । उनीहरूबीच बेला(बेलामा झगडा परिरहन्थ्यो। एक वर्षअघि गाउँ(समाज बसेर झगडा मिलाइदिएका थिए। ‘श्रीमानले अलि बढी शंका गर्ने गर्दा रहेछन्, त्यसैमा उनीहरूको झगडा हुन्थ्यो भन्ने गाउँलेहरूबाट बुझिन्छ,’ दाहालले भन्नुभयो । आज बिहान राति १ः५० तिर इलाका प्रहरी कार्यालय बेलबामा बमबहादुर र गीताका छिमेकी आइपुगे । आउने स्थानीयले सन्देश बोकेका थिए । गीता र बमबहादुर दुबै रक्ताम्य ढलेका छन् ।

यसपछि प्रहरी बमबहादुर र गीता बस्ने घर पुगेको थियो । दाहालका अनुसार बमबहादुर र गीताको झगडा मध्यरातमा परेको हुनसक्छ । त्यो झगडा उत्कर्षमा पुग्दा बमबहादुरले गीतालाई दाउ प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘जब गड्डाङगुडुङ गर्यो, बबिनले थाहा पाए, घरबेटी निर्मला घटनास्थलमा पुगेकी थिइन् । त्यतिबेला बबिन कोठाभित्रै थिए,’ दाहालले भन्नुभयो,‘बमबहादुर गीतालाई प्रहार गरेको दाउले आफ्नो घाँटी रेटिरहेका थिए।’

घरबेटी निर्मला आत्तिइन्, हत्तपत्त ढोका खोलिन् । डरले लुगलुग काँपिरहेका बबिन् निर्मलासँगै बाहिर छिमेकीसँग हारगुहार गर्न पुगेका थिए । ‘यो घटना साढे १ बजेतिरको हुनुपर्छ, १ः५० मा प्रहरीमा खबर पुगिसकेको थियो,’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले भन्नुभयो । प्रहरी निरीक्षक दाहालका अनुसार घटनास्थल पुग्दा गीताको शरीरमा जीवित चाल थिएन। बमबहादुर जीवित थिए ।

उनलाई तत्काल नोबेल अस्पताल विराटनगर लगियो । तर, उपचार प्रारम्भमै उनको मृत्यु भयो । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ। उनीहरूबीच मध्यरातमा के झगडा भयो खुलेको छैन । जीवनको उत्तरार्द्धमा बमबहादुरले श्रीमतीको हत्या गरेर बबिनको सहारा खोसे । न आफू रहे । रहेका भए पनि उनी जेल पुग्थे । बबिन ‘टुहुरा’ हुन्थे । बुवा–आमा दुबै नरहेपछि बबिनको कलिलो बाल्यकाल अनिश्चय बनेको छ । उनी अहिले जेठीआमाकी छोरीको काखमा पुगेका छन् ।