जनता टाइम्स

८ चैत्र २०८०, बिहीबार २०:३१

श्रीमान‍्को कोदालो प्रहारबाट घाइते भएकी श्रीमतीको मृत्यु


बैतडी, ८ चैत । बैतडीमा कोदालो प्रहारबाट घाइते भएका तीन जनामध्ये एकको मृत्यु भएको छ । घाइते भएकी ५६ वर्षीया पार्वती धामीको डिलाशैनी अस्पताल धामीगाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । आज बिहान डिलाशैनी गाउँपालिका–७ का ६२ वर्षीय किसनसिंह धामीले श्रीमतीसहित ३ जनालाई कोदालो प्रहार गरेका थिए ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको मृत्यु भएको र अन्य दुई जनालाई कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो ।

डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वपर्षीय सुभाष कलौनी र गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्टलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर पठाइएको छ । कलौनी र भट्ट धामीको घरमा डेरा गरी बस्दै आएका थिए । घटनाको कारण भने खुलेको छैन । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताउनुभयो ।