जनता टाइम्स

८ चैत्र २०८०, बिहीबार २१:१६

छेक्दैन उमेरले पढ्न : ४१ वर्षको उमेरमा ९ को परीक्षा दिंदै भीम


उदयपुर, ८ चैत । इच्छाशक्ति भए पढ्न चाहनेलाई उमेरले छेक्दैन भन्ने उदाहरणीय पात्र बन्नुभएको छ– भिमबहादुर बुढाथोकी । उदयपुरको रौतामाई गाउँपालिका वडा–६, रबुवाका बुढाथोकीले ४१ वर्षको उमेरमा कक्षा‑९ को वार्षिक परीक्षा दिनुभएको हो । रौतामाई गाउँपालिका वडा–४ तल्ल्लो मालबासेस्थित श्री सरस्वती माविबाट कक्षा‑९ को वार्षिक परीक्षा दिइरहेको भिमबहादुर बुढाथोकीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म अहिले ४१ वर्षको भएँ, यसपाली कक्षा‑९ को वार्षिक परीक्षा दिंदैछु । अहिलेसम्म सबै विषयको परीक्षा राम्रो भएको छ । नेपाली अरु विषयभन्दा सजिलो लाग्छ, अंग्रेजी, विज्ञान र गणित अलि गाह्रो लाग्छ । तर, पास हुने गरी परीक्षा दिएको छु । हिम्मत भने हारेको छैन ।’ साविक श्री सरस्वती प्राविबाट कक्षा‑५ पास गरेपछि कक्षा‑६, ७ र ८ रौतामाई गाउँपालिकाकै श्री मावि सल्लेबाट उत्तीर्ण गरेको बुढाथोकीले सुनाउनुभयो । कक्षा‑८ उत्तीर्ण गरेपछि घरायसी कारणले गर्दा पढ्न छोडेको उहाँले बताउनुभयो । उक्त विद्यालयमा नै कार्यालय सहयोगीका रुपमा काम गरेको १० वर्ष भएको कुरा पनि सुनाउनुभयो ।

‘कतिबेला पढ्न हुन्छ त ?’ भनेर प्रश्न गर्दा, उहाँले भन्नुभयो, ‘बिहान ९ः३० विद्यालय पुग्छु । त्यसपछि विद्यालयमा दैनिक हुने कामहरु गर्छु । विद्यालयको कामसकेपछि समय मिल्नसाथ कक्षामा बसेर पढ्छु । दैनिक रुपमा भने सबै विषयहरु त पढ्न पाउँदिन । घरमा पनि गाई–भैंसी, खसी–बाख्रालाई घाँस, पानी र घरधन्दा सकेपछि बिहान–बेलुका समय मिलाएर पढ्छु ।’ बेलैमा पढ्न छोडेकोमा पश्चताप भएको उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कम्तिमा मैले एसएलसी (एसईई) त पास गर्नुपर्थ्यो । तर समयमा बुद्धि पुगेन र पढ्न छोडेर गल्ति गरें । जे होस् ढिलै भए पनि बुद्धि आएको छ । अब कक्षा १२ सम्म पास गर्न सके अत्ति उत्तम हुने थियो ।’ २०८० चैत २ गतेदेखि बुबाले म सँगै कक्षा‑९ को वार्षिक परीक्षा दिंदै हुनुहुन्छ, उहाँकी छोरी उमा बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बुबाले मसँगै कक्षा–९ वार्षिक परीक्षा दिंदै हुनुहुन्छ । बुबाको मिहेनत र लगाव देखेर मलाई पनि हौसला र प्रेरणा मिलेको छ ।’

कक्षा‑९ मा १५ जना विद्यार्थीमध्ये दुई जनाले विद्यालय छाडे भने अहिले १३ जना विद्यार्थीले वार्षिक परीक्षा दिइरहेको प्रअ कमल बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कक्षा‑९ मा १५ जना विद्यार्थी थिए । १५ जनामध्ये दुई जनाले विद्यालय छाडे भने अहिले १३ जना विद्यार्थीले अन्तिम परीक्षा दिइरहेका छन् । यी १३ जनामध्ये भिम बुढाथोकी एक हो । उहाँले पनि अरु विद्यार्थी भाइबहिनीहरूसँग कक्षा‑९ परीक्षा दिंदै हुनुहुन्छ। उहाँलाई अग्रिम शुभकामना छ ! बुढाथोकी यस विद्यालयको कर्मचारी पनि हो । उहाँ मिलनसार, मिहेनेती र इमान्दर हुनुहुन्छ ।’