काठमाडौं, चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बटमलाइन सुनाउनु भएको छ । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बटमलाइन सुनाउनु भएको हो ।
उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्ने बताउनु भयो । उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पार्नुभयो ।
‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ, दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्वपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रधानमन्त्रीले बाहिरी मुलुकहरूबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि समेत नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रको रूपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो । आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको पनि उहाँले बताउनु भयो ।
शैक्षिक कार्यतालिकालाई कार्यान्वयन गर्न दिर्नेशन
सम्बोधनको क्रममा प्रधानमन्त्री दाहालले शैक्षिक ‘कार्यतालिका’लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न निर्देशन दिनुभयो । नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको हो ।
‘वार्षिक शैक्षिक क्यालेण्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहानीय कार्य हो,’ उहाँले भन्नुभयो, ‘शैक्षिक क्यालेण्डरको कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु ।’
प्रधानमन्त्री दाहालले सबै मिलेर चिकित्सा शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजानुपर्ने बताउनु भयो । ‘चिकित्सा शिक्षा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय हो, यो मानव समुदायको स्वास्थ्यसँग जोडिएको र सबैको चासोको क्षेत्र हो, यस क्षेत्रको नियमन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ,’ प्रधानमन्त्री दाहालको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्