जनता टाइम्स

९ चैत्र २०८०, शुक्रबार १७:२७

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन : योजना आयोगमा ४ सदस्य नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका १६ निर्णय


काठमाडौं, चैत ९ । सरकारले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि मिटरब्याजसम्बन्धी ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न कार्कीको अध्यक्षतामा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य रहनेगरी ३ सदस्यीय आयोग गठन गर्ने निर्णय भएको बताउनुभयो ।

एकीकृत कानुनी सहायता सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको उजानकारी पनि उहाँले दिनुभयो । बैठकले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डललाई चीन भ्रमणको स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यसैगरी राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । कानुनी वाध्यता अनुसार अर्काे आयोग गठन गर्नेगरी भूमि आयोग विघटन गरिएको मन्त्री शर्माले बताउनुभयो । पुनर्गठन गर्न नमिल्ने भएपछि तत्कालै अर्काे गठन गरी आयोग विघटन गरिएको उहाँको भनाई छ ।

यसैगरी बैठकले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्रा. संगीता सिंह (काठमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिको पाण्डे (ललितपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले ०८१ वैशाख १७ देखि २३ सम्म भुटानको थिम्पुमा हुने ईसीमोडको बोर्ड अफ गभर्नरको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । यस्तै नेपाल प्रशासन सेवा समूहतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।