नयाँदिल्ली, चैत १० । आगामी लोकसभा निर्वाचन तालिका घोषणा भएको एक हप्ता नपुग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीहरूमाथि धावा बोल्न सुरु गरेका छन ।
प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले बिहीबार दिउँसो मोदी सरकारले आफ्नो सबै बैंक खाता रोक्का गरेको भनेर आरोप लगाएको छ । त्यसको केही घण्टापछि आम आदमी पार्टीका प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको आर्थिक अपराध अनुसन्धान र आर्थिक कानुन लागू गर्ने निकाय प्रवर्तन निर्देशनालय (इन्फोर्समेन्ट डाइरेक्टोरेट) ले पक्राउ गर्यो ।
केजरीवाल नेतृत्वको राज्य सरकारले नोभेम्बर २०२० मा दिल्लीमा नयाँ नीति ल्याएर मदिरा बिक्री पूर्णरूपमा निजी क्षेत्रलाई दिँदा भ्रष्टाचार गरेको आरोप उनीमाथि छ। केजरीवाल संघीय चुनावको संघारमा गिरफ्तार हुने दोस्रो विपक्षी मुख्यमन्त्री हुन । सात हप्ताअघि मात्रै झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालयले नै दबाब दिएर राजीनामा दिन लगाएको थियो । राजीनामा दिएलगत्तै उनलाई जमिन मामलामा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा गिरफ्तार गरेको थियो।
सोरेनको गिरफ्तारीको तीन दिनअघि मात्रै बिहारका मुख्यमन्त्री नीतीश कुमार राष्ट्रिय जनता दल (आरजेडी) र कंग्रेससहितका दलसँगको गठबन्धन तोडेर सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा फेरि बिहारको मुख्यमन्त्री बनेका थिए । भारतीय समाचार एजेन्सीहरुले नीतीशलाई पनि आफ्नो खेमामा नआए पक्राउ गर्ने भनेर भाजपाले धम्क्याएको दाबी गरेका थिए ।
दुई महिनाअघि अयोध्यामा बाबरी मस्जिद भत्काएको भूमिमा राम मन्दिर उदघाटन गराएका मोदीले हिन्दु बहुल भारतमा अर्को कार्यकाल पनि जित्ने लगभग निश्चित मानिन्छ । तर पनि हिन्दु अतिवादी नीतिका कारण पछिल्लो समय दक्षिणी राज्यहरूमा भाजपाले सिट जित्ने सम्भावना न्यून हुँदै गएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणाली भएको भारतमा २०१९ को लोकसभा निर्वाचनमा ३७.३६ प्रतिशत मात्र मत ल्याए पनि विपक्षीहरू विभाजित हुँदा भाजपाले बहुमत ल्याएको थियो । यसपालि विपक्षीहरू पहिलेभन्दा एकत्रित भए भने विपक्षी गठबन्धनले बहुमत पुर्याउन सक्ने भनेर पनि मोदी आक्रामक भएका छन ।
फब्रुअरी १५ मा सर्वोच्च अदालतले राजनीतिक दलहरूलाई पैसा जुटाउन बेचिने इलेक्टोरल बण्ड असंवैधानिक भन्दै खारेज गरेको थियो र मार्चमा स्टेट बैंक अफ इण्डियालाई इलेक्टोरल बण्डको माध्यमबाट को–कोबाट कुन–कुन दलले कति–कति रकम कुन मितिमा पाएको विवरण सार्वजनिक गर्न आदेश दिएको थियो ।
त्यसपछि भाजपाले सो माध्यमबाट सबभन्दा धेरै रकम उठाएको मात्रै नभएर कति व्यापारिक प्रतिष्ठानमा छापा मारेलगत्तै उनीहरूले भाजपालाई ठूलो रकम दिएको समेत खुलेको थियो। कतिले ठूला सरकारी ठेक्का पाउनुअघि र पाउनेबित्तिकै भाजपालाई पैसा दिएको र केहीलाई कंग्रेसलगायत विपक्षीलाई पैसा दिनेबित्तिकै सरकारले प्रतिशोधमा कारबाही गरेको खुलेको छ ।
इलेक्टोरल बण्डका बारेमा थप खोजी भइरहेको बेलामा त्यसबाट ध्यान हटाउन र विपक्षीको चुनाव प्रचारलाई निष्प्रभावी बनाउन मोदीले केजरीवाललाई पक्रेको र कंग्रेसको खाता रोक्का गरेको आरोप लगाइएको छ ।
भारतमा दललाई दिइएको नगद चन्दामा कर लाग्दैन । तर कर छुट पाउनका लागि दलले निर्धारित समयभित्र कर विवरण दाखिला गर्नुपर्छ । कंग्रेसले २०१७÷१८ को चन्दाको विवरण कर कार्यालयमा दाखिला गर्न ढिला गरेको देखाएर कारबाही गरिएको हो ।
कर विवरण दाखिला गर्न ४५ दिन ढिला गरेको कारण देखाई भाजपा सरकारले आफ्ना बैंक खाताहरू रोक्का गरेको र भारु २ अर्ब १० करोड मागेको भनी गत महिना कंग्रेसले विरोध गरेको थियो । बिहीबार भने शीर्ष नेताहरूले दिल्लीमा पत्रकार सम्मेलन आयोजना गर्दै भाजपा सरकारले आफ्नो दललाई चुनावको संघारमा आर्थिक रूपमा निकम्मा बनाएको आरोप लगाए ।
’प्रधानमन्त्रीद्वारा भारतीय राष्ट्रिय कंग्रेसलाई आर्थिक रूपमा अपांग पार्ने योजनाबद्ध प्रयास भइरहेको छ । जनताबाट संकलन गरिएको रकम रोक्का गरिएको छ, हाम्रो खाताबाट पैसा जबरजस्ती खोसिएको छ । तर, यी चुनौतीपूर्ण परिस्थितिहरूमा पनि हामीले हाम्रो चुनावी अभियानको प्रभावकारिता कायम राख्न सक्दो प्रयास गरिरहेका छौं,’ कंग्रेसकी पूर्वप्रमुख सोनिया गान्धीलाई उद्धृत गर्दै द वायरले लेखेको छ । प्रमुख प्रतिपक्षी दलको कोषमाथिको यो नियोजित आक्रमण वास्तवमै अभूतपूर्व भएको भन्दै उनले यसलाई अलोकतान्त्रिक भनेकी छन्।
’यो प्रधानमन्त्री र गृहमन्त्रीले गरेको आपराधिक कार्य हो। भारत लोकतन्त्र हो भन्ने सोच झुटो हो, विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश हो भन्ने झुटो हो। भारतको २० प्रतिशत जनताले हामीलाई भोट दिन्छन् तर हामी केही चिजका लागि २ रुपैयाँ तिर्न पनि नसक्ने भएका छौं,’ पार्टीका पूर्वप्रमुख राहुल गान्धीले पत्रकार सम्मेलनमा भने, ’हामी प्रचार गर्न सक्दैनौं। हाम्रा उम्मेदवारहरूलाई खर्च दिन सक्दैनौं र हाम्रा उम्मेदवार र नेताहरूले उड्ने त कुरै छाडौं, रेलको टिकट समेत किन्न सक्दैनन्।’













प्रतिक्रिया दिनुहोस्