जनता टाइम्स

१० चैत्र २०८०, शनिबार १३:००

होली सुरक्षाका लागि उपत्यकाका ९० स्थानमा चेकजाँच, यी काम गरे सिधै हुनेछ प्रहरी हिरासतमा बास


काठमाडौं, चैत १० । उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनवटै जिल्लामा कडाइ गर्ने भएको छ ।

उपत्यकाका सडकहरूमा अधिकतम ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइका साथ नियन्त्रण गर्ने गरी तयारी गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताउनु भयो ।

एसएसपी श्रेष्ठका अनुसार होली पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि यस वर्ष काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ ।

यसका साथै ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राख्ने तयारी गरिएको एसएसपी श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार सुरक्षा योजना अनुसार मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गरिनेछ । यसका लागि करिब एक हजार जना ट्राफिक प्रहरी खटिने छन ।

प्रहरीले अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाइ गरी ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि निगरानी गरिने जनाएको छ । त्यस्ता गतिबिधि भए ठाउँका ठाउँ समात्ने ट्राफिक प्रहरीको भनाई छ ।

विशेषगरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडागर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने प्रहरीले बताएको छ । पछिल्लो बर्षहरुमा होलीमा बिकृती बढेको निश्कर्षसहित ट्राफिक प्रहरीले आवश्यक समर्तकता अपनाएको हो ।