काठमाडौं, ११ चैत । लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाईसी)ले ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ ।
काठमाडौंको कपनमा आज भएको फाइनल खेलमा अखिल क्रान्तिकारीलाई ८-२ गोल अन्तरले पराजित गर्दै एलबीआरवाईसीले उपाधि जितेको रामेछाप–काठमाडौं पत्रकार समाजका उपाध्यक्ष यसिमा महतले जानकारी दिनुभयो ।
यसैगरी लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले तेस्रो स्थान हासिल गरेको छ । साथीको चिया अड्डालाई ६-४ गोल अन्तरले पराजित गर्दै लिभुराले तेस्रो स्थान हासिल गरेको हो।
उपाध्यक्ष महतका अनुसार उपाधिसँगै लिखु भुजी रामेछाप युवा क्लब (एलबीआवाईसी) ले शिल्ड, मेडल, प्रमाणपत्रसहित ५० हजार नगद प्राप्त गरेको छ । यस्तै, दोस्रो भएको अखिल क्रान्तिकारीले ३० हजार र तेस्रो भएको लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा) ले २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्।
रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित रामेछाप जिल्लाका १७ टोलीले सहभागिता थियो । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी लिगकम नकआउट प्रतियोगिता शनिबार र आइतबार सञ्चालन गरिएको थियो। रामेछाप जिल्लाबाट काठमाडौं उपत्यकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको समाजका अध्यक्ष दिपेन्द्र गुरूङले बताउनुभयो ।
विजेता टोली र खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल, नेपाल खेलकुद महासंघ (नेकोस) बागमती प्रदेश कमिटीको अध्यक्ष सीताराम कार्कीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्