janatatimes

१२ चैत्र २०८०, सोमबार ०८:२७

कानुनी साक्षरता गाउँ–गाउँमा पुर्‍याउनुपर्छ– कानुनमन्त्री गिरी


काठमाडौं, चैत १२ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ–गाउँमा लैजानुपर्ने बताउनुभएको छ। कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ–गाउँमा पुगेर जानकारी दिनुपर्ने बताउनुभएको हो । आफ्नो निर्वाचन क्षेत्र रहेको पर्वतको पैयुँ गाउँपालिकाका बासिन्दासँग भेटघाटमा व्यस्त मन्त्री गिरीले आइतबार हुवास बजारमा आयोजित कार्यक्रममा सो धारणा राख्नुभएको हो । कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै मन्त्री गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरु बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गर्नुभयो ।

उहाँले बदलिँदो परिवेश अनुसारका कानुनहरु अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको समेत बताउनुभयो । सदनमा पेश भएका कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता औंल्याउनुभयो । मन्त्री पदमा रहँदा वा नरहँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा पटक–पटक पुग्ने गरेका एमालेका नेतासमेत रहेका गिरीले पछिल्लो पटक पैयुँ र विहादी गाउँपालिकाका विभिन्न ठाउँका बासिन्दासँग भेटघाट गर्नुभएको छ । ती भेटघाटमा मन्त्री गिरीले संघीय निजामती ऐन र शिक्षा ऐन छिट्टै जारी हुने बताउनुभयो । कानुन निर्माणमा सरकारलाई प्रतिपक्ष दल लगायत सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।