जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार १८:३१

म्याच फिक्सिङ प्रकरणमा क्रिकेटर आदिलले पाए अदालतबाट सफाई


काठमाडौं, १२ चैत ।  म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीले सफाई पाउनुभएको छ । आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाई दिएको हो ।

गत बर्ष आयोजित नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ पर्नुभएको थियो ।

गत माघ ९ गते पक्राउ परेका अन्सारी र आलमलाई जिल्ला अदालतले तीन लाख धरौटीमा छोडेको थियो । गत बर्ष ९ देखि २७ पुसमा काठमाडौंको कीर्तिपुरमा भएको नेपाल टी–२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानकै क्रममा प्रहरीले महबुब आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो । प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेका नवीन कँडेल र रवि माझी भने फरार रहेका थिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाँच जनाविरुद्ध स्पट फिक्सिङको अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको थियो ।