जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार १३:२४

आयरल्याण्ड वोल्भ्सविरुद्ध दिपेन्द्र र ललित बेन्चमा


काठमाडौं, १३ चैत । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको दोस्रो खेल आज हुँदै छ । यस खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला बलिङ गर्ने भएको छ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । यसअघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा सोमबार खेलेका दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीलाई बाहिर राखिएको छ भने उनीहरुको ठाउमा विवेक यादव र अनिल शाहलाई प्लेइङ ११ मा सामेल गरिएको छ ।

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी र अविनाश बोहोरा रहेका छन् । यो सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय सिरिज हुने छ । नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।