जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार १६:१३

कार्गो जहाज ठोक्किँदा भत्कियो बाल्टिमोरको साढे २ किमि लामो पुल


अमेरिका, चैत १३ । मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो ‘फ्रान्सिस स्कट की’ पुल भत्किएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार पुल भत्किदा कम्तीमा ७ वटा गाडी नदीमा खसेका छन । बाल्टिमोर सिटी फायर डिपार्टमेन्टलाई उधृत गर्दै सीएनएनले जनाएअनुसार पुल भत्किदा नदीमा खसेर बेपत्ता भएका २० जनाको खोजी भइरहेको छ ।

घटनापछि मेरिल्यान्डका गभर्नर वेस मुरले राज्यमा आपत्काल घोषणा गरेका छन् । अहिले नदीमा हराइरहेका व्यक्तिको खोजीका लागि गोताखार परिचालन गरिएको छ । युट्युबमा पोस्ट गरिएको लाइभ भिडियोमा जहाजले पुललाई ठक्कर दिएको देखिन्छ । त्यसपछि पुलका केही स्पानहरू भत्किएका छन् ।

सन् १९७७ मा सञ्चालनमा आएको उक्त पुल मेरिल्यान्डका लेखक तथा अधिवक्ता फ्रान्सिस स्कट कीको सम्मानमा नामकरण गरिएको थियो ।