जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार २०:१४

पाकिस्तानमा आत्माघाती हमलामा पाँच चिनियाँ इन्जिनियरको मृत्यु


इस्लामबाद, १३ चैत । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ ।

चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ । पाकिस्तानी पत्रकार आरजु काजमीले एक्स ह्यान्डल मार्फत यस हमलाको जानकारी दिनुभएको छ ।

उहाँले खैबर पख्तुनख्वा प्रान्तको शाङ्ला जिल्लामा चिनियाँ नागरिक माथि आत्मघाती हमला भएको बताउनुभयो । यो हमला बेशाम सहर नजिक भएको थियो, जसमा पाँच चिनियाँ नागरिक मारिएका थिए । उहाँका अनुसार मृत्यु हुने सबै चिनियाँ इन्जिनियर रहेको बताइएको छ । यो खबर पाकिस्तानका लागि निकै महत्वपूर्ण छ, किनभने पाकिस्तानलाई चीनको नजिकको मित्र मानिन्छ ।

चिनियाँ इन्जिनियरहरूको यात्रा इस्लामाबादबाट सुरु भएको बताइएको छ, जुन खैबर पख्तुनख्वा प्रान्तको दासु शिविर हुँदै गइरहेको थियो । यसैक्रममा आत्मघाती हमलाकारीले निशाना बनाएका थिए । हाल उक्त दुर्घटनामा कति जना घाइते भएका छन् भन्ने विवरण आउन सकेको छैन ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका भिजुअलमा घटनास्थलमा जलेको कार देखिन्छ भने उपत्यकाबाट ठूलो धुवाँ निस्किरहेको देखिन्छ ।