जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार २२:५५

एमाले उदयपुरको अध्यक्षमा ५ जनाको उम्मेदवारी दर्ता, अन्य पदमा पनि उम्मेदवारको लर्काे (सूचीसहित)


उदयपुर, चैत १४ । नेकपा एमाले उदयपुरको अध्यक्षका लागि पाँच जनाले उमेदवारी दिएका छन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलवार उदघाटन गर्नुभएको नवौं जिल्ला अधिवेशनबाट अघि बढाइएको चुनावी प्रक्रियामा ५ जनाले अध्यक्षमा उम्मेदवारी दिएका हुन ।

निर्वाचन कमिटीका अनुसार अध्यक्षमा निवर्तमान अध्यक्ष परमेश्वर घिमिरेसहित कोशी प्रदेश कमिटीका पूर्वसदस्य सदस्य भागवत राउत, बिमल कार्की, गोपालबहादुर खत्री र खड्गबहादुर परियारले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन अधिकृत हिमाल खड्काले दिनुभएको जानकारी अनुसार अध्यक्षमा ५ सहित बिभिन्न पदमा उम्मेदवारी दिनेको संख्या सोचेभन्दा बढेको छ ।

त्यस्तै उपाध्यक्षमा निवर्तमानसचिब तथा चौदण्डिगढी नगरपालिकाका मेयर कालुमान लामा, निवर्तमान उपसचिब भरतबहादुर थापा र कोसी प्रदेश कमिटीका पूर्वसदस्य दिलबहादुर तामाङको मनोनयन दर्ता भएको छ । सचिव पदमा निवर्तमान उपसचिव टेकबहादुर राउत, प्रदेश कमिटीका पूर्वसदस्य शम्भु पौडेल र जिल्ला कमिटी सचिवालय सदस्य महेश रोक्काले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी उपसचिव खुलातर्फ हेमबहादुर खड्का, जिवनाथ दाहाल, मन्दिप राई, धर्मबहादुर तामाङ, दुर्गानन्द चौधरी र नारद निरौलाले उम्मेदवारी दिनुभएको छ । यस्तै उपसचिव महिलामा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, कटारी नगरपालिकाका उपमेयर गिता खड्का र गंगा राईको मनोनयन दर्ता भएको छ । सदस्यहरुमा पनि आवश्यकभन्दा तेब्बर बढी उम्मेदवारी मनोनयन भएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।