जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार ०८:३९

पाकिस्तानी राजदूतले भेटे गृहमन्त्री


काठमाडौं, चैत १५ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मीले भेटबार्ता गर्नुभएको छ ।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा राजदूत अब्रारले नेपाल र पाकिस्तानबीच अपराध नियन्त्रणसम्बन्धी सम्झौता हुन बाँकी रहेका समझदारीपत्रउपर छलफल गर्न र पाकिस्तानबाट क्रिकेटसहितका खेलकुदमा क्लबस्तरमा समन्वय र सहकार्य गरी नागरिकस्तरसम्म असल सम्बन्ध स्थापित गराउन जोड दिनुपर्ने बताउनु भयो ।

पाकिस्तानी राजदूतले नेपाल र पाकिस्तानबीचमा उच्च तहको भेटघाट गराइ परस्पर जनसांख्यिक र सांस्कृतिक लाभ हासिल गर्ने विषय पनि राजदूतले राखेको पाकिस्तानी दूतावासले जनाएको छ । भेटमा गृहमन्त्री लामिछानेले भर्खर सम्पन्न निर्वाचनले स्थायी सरकार र शान्ति स्थापनामा उल्लेख्य योगदान गर्ने विषयमा आफू विश्वस्त रहेको बताउँदै पाकिस्तानी जनताप्रति शुभेच्छा व्यक्त गर्नुभएको छ ।