जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार १२:४५

मेडिकल कलेजले तीन वर्षमै तीन अर्ब बढी ठगी गरेको खुलासा, सतर्कता केन्द्रको छानविनले खोल्यो पोल


काठमाडौं, असोज ९ । पछिल्ला तीन वर्षमा निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी रकम ठगी गरेको तथ्य बाहिर आएको छ । सरकारले गठन गरेको छानबिन समितिले ठगीको यस्तो भयावह तथ्यलाई उजागर गरेका हो । सरकारी छानविन टोलीका अनुसा नेपाली विद्यार्थीबाट मात्रै यति धेरै ठगी गरी रकम असुल गरिएको हो ।

विदेशी विद्यार्थीबाट असुलिने रकमको विवरण सरकारी समितिले पनि संकलन गरेको छैन । ठगीको यो आँकडा विदेशी विद्यार्थीबाट अवैध रुपमा असुलिएको रकम पनि जोड्न झन् धेरै हुने समितिले संकेत गरेको छ । मेडिकल कलेजमा भइरहेको अवैध असुलीबारे छानविन गर्न सरकारले ६ महिनाअघि राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा चार सदस्यीय छानविन तथा अध्ययन समिति गठन गरेको थियो । समितिले सन् ०१५ देखि १८ सम्म मेडिकल कलेजहरूमा विद्यार्थी भर्ना संख्या, विभिन्न शीर्षकमा उठाइएको शुल्कलगायतका विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो ।

समितिले डेढ महिनाअघि प्रतिवेदन तयार गरिसकेको छ । तर, प्रधानमन्त्रीलाई बुझाउन पाएको छैन । ‘सतर्कता केन्द्रका सचिवज्यू हेरफेर हुनुभएकाले प्रतिवेदन बुझाउने निर्णय हुन पाएको छैन, तर चाँडै प्रधानमन्त्रीलाई बुझाउने तयारीमा छौँ,’ सतर्कता केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले भन्नुभयो । राष्ट्रिय सतर्कता केन्द्रले चार महिना लगाएर स्थगलत अध्ययन गरी सन् २०१५ देखि २०१८ सम्मको रिपोर्ट तयार गरेको छ । भर्नामै सरकारले तोकेभन्दा बढी शुल्क असुल्ने कलेजहरूले भर्नापछि विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाएर ठगी गरेको देखाएको छ । समितिले तयार पारेको प्रतिवेदनअनुसार सबै निजी मेडिकल कलेजहरूले ठगी धन्दा अघि बढाएका छन ।

मेडिकल कलेजले लिने शुल्कबारे त्रिभुवन विश्वविद्यालयले समेत छानबिन गरेको थियो । विश्वविद्यालयले रिपोर्ट लुकाएर मेडिकल कलेजलाई जोगाउन खोजेपछि ६ महिनाअघि प्रधानमन्त्री कार्यालयले छानबिनको जिम्मेवारी सतर्कता केन्द्रलाई दिएको हो । सचिवलाई बुझाइएको प्रतिवेदनमा सञ्चालकहरूविरुद्ध सम्पति शुद्धीकरणअन्तर्गत छानबिन गर्नसमेत सुझाब दिइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ वटै निजी मेडिकल कलेजका सञ्चालकहरूको सम्पत्ति छानबिन अघि बढाइसकेको छ ।

नेपाल मेडिकल कलेज र चितवन मेडिकल कलेजको अतिरिक्त शुल्क लिएको विवरण छानबिन समितिले समावेश गर्न सकेको छैन । सो समितिको रिपोर्टसहित गरेर १४ वटा मेडिकल कलेजले तीन वर्षमा करिब तीन अर्ब ठगी गरेको पाइएको छानबिन समिति स्रोत बताउँछ । सरकारले काठमाडौं उपत्यकामा एमबिबिएसका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । ट्युसन, ल्याब, लाइब्रेरीलगायत सबै शुल्क यसैभित्र समेटेको छ । तर, निजी मेडिकल कलेजले मनलाग्दी चर्को शुल्क असुलिरहेका हुन । विद्यार्थीसँग बढी लिएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजलाई ६ महिनाअघि नै निर्देशन दिएको थियो । तर, शिक्षाको निर्देशन कलेजहरूले टेरेका छैनन । ८ चैत ०७५ मा शिक्षा मन्त्रालयले गण्डकी मेडिकल कलेजको त नाम नै तोकेर निर्देशन दिएको थियो । सो कलेजले विद्यार्थीअनुसार फरक–फरक शुल्क उठाउँदे आएका छन ।

यस्तो छ सरकारी निश्कर्ष

गण्डकी मेडिकल कलेज : ४३ करोड ५ लाख ठगी

पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट तीन वर्षमा ४३ करोड चार लाख ९० हजार ठगी गरेको छ । सन् ०१७÷१८ को ब्याचबाट मात्र १५ करोड ८० लाख ६० हजार ठगेको छानबिन समितिको ठहर छ । ठगी प्रकरणमै कलेज सञ्चालक खुमा अर्याललगायत विरुद्ध गत वर्ष अदालतमा मुद्दा परेको थियो । धरौटीमा छुटेका उनीहरूले अहिले पनि ठगी जारी राखेका छन ।

नेसनल मेडिकल कलेज : ३२ करोड ३५ लाख ठगी 

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सन् ०१५ देखि १८ सम्म विद्यार्थीबाट ३२ करोड ३५ लाख ८१ हजार पाँच सय ठगी गरेको छ । कलेजले भर्ना शुल्क सरकारले तोकेभन्दा धेरै उठाएको छ । त्यस्तै, अन्य शीर्षकमा समेत अवैध ढंगले अतिरिक्त शुल्क उठाउने गरेको छ ।

कलेज अफ मेडिकल साइन्सेस :  १० करोड ६१ लाख ठगी 

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसले सन् ०१५ देखि ०१८ सम्म विद्यार्थीबाट १० करोड ६१ लाख ५७ हजार अवैध असुल गरेको सरकारी छानबिन समितिको ठहर छ । कलेजले भर्ना शुल्कमै प्रतिविद्यार्थी सात लाख ४५ हजारसम्म बढी उठाएको छ । यसरी सन् ०१८ मा मात्र ३२ विद्यार्थीबाट दुई करोड ३८ लाख ४० हजार असुलेको छ । कलेजले डेभलपमेन्ट शुल्कका नाममा प्रतिविद्यार्थी वार्षिक दुई लाख अतिरिक्त लिएको पाइएको छ ।

नोबेल मेडिकल कलेज : ३५ करोड ४७ लाख ठगी 

विराटनगरस्थित नोबेल मेडिकल कलेजले तीन वर्षमा ३५ करोड ४७ लाख ४४ हजार ११८ रुपैयाँ ठगी गरेको छ । सन् ०१८ मा उसले प्रतिविद्यार्थी भर्नामा सात लाख ४५ हजार अतिरिक्त उठाएको छ । त्यस्तै, अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार सात सय ३२ रुपैयाँ असुलेको छ । सन् ०१८ मा मात्रै कलेजले ५० पेइङ विद्यार्थीबाट १२ करोड ७० लाख २६ हजार बढी उठाएको छ ।

लुम्बिनी मेडिकल कलेज : ३२ करोड ९६ लाख ठगी 

सन् ००९ देखि एमबिबिएस अध्ययनको अनुमति पाएको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजले पछिल्ला तीन वर्षको अवधिमा विद्यार्थीसँग ३२ करोड ९६ लाख ८४ हजार अवैध असुल गरेको छानबिन समितिको ठहर छ । छात्रवृत्तिमा पढ्ने १० विद्यार्थीसँग प्रतिव्यक्ति नौ लाख ७२ हजार अतिरिक्त शुल्क उठाएको छ । सन् २०१८ को ब्याचबाट मात्र ६ करोड ३६ लाख २१ हजार ठगी गरेको देखिएको छ ।

युनिभर्सल मेडिकल कलेज : ३२ करोड ७२ लाख ठगी 

पछिल्ला तीन वर्षमा यो कलेजले विद्यार्थीबाट ३२ करोड ७२ लाख ३० हजार ठगी गरेको छ । छात्रवृत्ति पाएका विद्यार्थीबाट पनि अतिरिक्त शुल्क उठाएको छ । या कलेजले सन् २०१६ को ब्याचबाट समग्रमा १२ करोड सात लाख ५० हजार बढी असुलेको थियो । कलेजले सन् ०१५ देखि १८ सम्म सरकारले तोकेको भर्ना शुल्क बढी लिनुका साथै विभिन्न १५ शीर्षकमा अतिरिक्त शुल्क उठाउँदै आएको छ ।

काठमाडौं मेडिकल कलेज : २७ करोड ८१ लाख ठगी 

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले विद्यार्थीबाट २७ करोड ८१ लाख ६५ हजार १९० रुपैयाँ ठगी गरेको छ । सन् ०१८ मा मात्रै उसले ५० पेइङ विद्यार्थीबाट ११ लाख २४ हजार नौ सयका दरले पाँच करोड ६२ लाख ४५ हजार बढी असुलेको छ । त्यस्तै, छात्रवृत्तिका विद्यार्थीबाट प्रतिविद्यार्थी तीन लाख ४१ हजार अवैध उठाएको छ ।

नेपालगन्ज मेडिकल कलेज : २१ करोड ९१ लाख ठगी 

नेपालगञ्ज मेडिकल कलेजले तीन वर्षमा विद्यार्थीसँग २१ करोड ९१ लाख २५ हजार दुई सय अतिरिक्त शुल्क असुलेको छ । सन् २०१८/१९ को ब्याचबाट मात्र पाँच करोड २७ लाख ५० हजार बढी शुल्क लिइएको छ । यस्तै छात्रवृत्तिमा भर्ना भएका १० विद्यार्थीसँग वार्षिक ६३ हजारका दरले असुलिएको पाइएको छ ।

विराट मेडिकल कलेज : १९ करोड ९ लाख

विराटनगरस्थित विराट मेडिकल कलेजले पछिल्ला तीन वर्षमा विद्यार्थीबाट १९ करोड नौ लाख ३३ हजार २८९ रुपैयाँ ठगी गरेको छ । छात्रवृत्तिमा पढेकाहरूसँग पनि प्रतिविद्यार्थी ६ लाख २५ हजार अतिरिक्त उठाइएको छ ।

मणिपाल मेडिकल कलेज : १० करोड ९ लाख ठगी 

भारतीय लगानीमा पोखरामा सन् १९९२ देखि सञ्चालित मणिपाल कलेज अफ मेडिकल साइन्सेसले पछिल्लो सन् ०१५ देखि १८ सम्म विद्यार्थीबाट १० करोड नौ लाख रुपैयाँ अतिरिक्त असुलेको छ । कलेजले एउटै विद्यार्थीसँग पाँच वर्षमा ८० लाखसम्म उठाएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

किस्ट मेडिकल कलेज : ५ करोड ९९ लाख ठगी

किस्ट मेडिकल कलेजले सन् ०१५ देखि १८ सम्म पाँच करोड ९९ लाख ३० हजार ठगी गरेको छ । अतिरिक्त शुल्क उठाएको भन्दै गत वर्ष विद्यार्थीले प्रशासनमा उजुरी गरेका थिए ।

देवदह मेडिकल कलेज : ३ करोड ९० लाख ठगी

बुटवलस्थित देवदह मेडिकल कलेजले तीन करोड ८९ लाख ९४ हजार ठगी गरेको छ । सन् ०१५/१६ मा २४ सिट पाएको यो कलेजले भर्ना शुल्क मात्रै प्रतिविद्यार्थी चार लाख ५७ हजार आठ सय बढी असुलेको थियो । त्यस्तै, सन् ०१६/०१७ मा भर्ना र अन्य शीर्षकमा गरी प्रतिविद्यार्थी ८ लाख ७७ हजार बढी उठायो । ०१७/१८ मा कलेजले ४० सिट पायो । त्यो वर्ष पनि प्रतिविद्यार्थी ६ लाख ११ हजार पाँच सयका बढी असुली गरेको पाइएको छ ।